
वातावरण शुल्कको नाममा मनपरी रकम उठाउँदै पालुङटार नगरपालिका
पालुङटार नगरपालिकाले ‘स्थानीय उत्पादन अन्तरपालिका वातावरण शुल्क’ को नाममा मनपरी रकम असुल गर्ने गरेको पाइएको छ । नियम विपरित पालिकाका नाकाहरुबाट कृषि उपजहरुको समेत कर असुल गरेपछि बिरोध भएको हुन थालेको छ ।
शुल्क संकलनका लागि यो बर्ष पालुङटार नगरपालिकाले गोरखा नगरपालिका–१० को महादेव कन्स्ट्रक्सन नामक कम्पनीसँग सम्झौता गरेको छ । सम्झौता अनुसार नगरपालिकाबाट बाहिर निर्यात हुने ढुंगा, गिटी तथा अन्य सामग्रीहरुको निर्यात कर लिन पाउने व्यवस्था छ । तर, पालिकाभित्र आयात हुने कुनै पनि वस्तुमा कर लिन नपाउने सम्झौतामा उल्लेख छ ।
सो कुरा पालुङटार नगरपालिकाका सूचना अधिकारी माधव पोखरेलले समेत बताएका छन् । तर महादेव कन्स्ट्रक्सनले नाकामा बाँसको भाँजो हालेर अन्यत्रबाट पालिका भित्रिने वस्तुहरुमा समेत नियम विपरित कर असुल गर्दै आएको छ । व्यक्तिगत सामग्रीहरुबाट पनि रकम असुल गर्ने गरेको भन्दै गुनासो बढेको छ ।
स–साना चामलका बोरा, खसी बोका लगायत अन्य कृषिजन्य सामाग्रीहरु लगेबापत समेत पैसा लिने गरेको भन्दै सिरानचोक गाउँपालिका–४ छोप्राकका विष्णु गोतामेले आक्रोश पोखे । ‘घर आउँदा जाँदा पालुङटार नगरपालिकाको डेढ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सरकारले निर्माण गरेको उक्त सडकमा हिँडेबापत पनि पैसा तिर्नुपर्ने अवस्था छ, जुन सरासर गलत हो’, उनले भने ।
पालिकाभित्रको ढुङ्गा, गिटी, बालुवा जस्ता नदिजन्य सामाग्री तथा अन्य व्यवसायीक रुपमा किनबेचका लागी लगिएका कृषि सामाग्रीहरुमा शुल्क उठाउनु स्वभाविक भएपनि बाटो हिँड्ने जो कोहीलाई रोकेर रकम असुल गर्नु सरासर दादागरी रहेको उनको भनाई छ ।
पालिकाले कृषि सामाग्री उत्पादनलाई प्रोत्साहन गर्नुको सट्टा कर लिएर उल्टै निरुत्साहित गर्न खोजेको पालुङटार नगरपालिका–२ कटहरेका दिपक घिमिरेले बताए । उनले भने, ‘दशैँमा काठमाडौँ बस्ने भाईलाई एउटा बोका पाठइदिएको थिए, त्यसमा पनि दुईसय रुपैँया कर लिग्यो । बिरोध गर्दा नगरपालिकाले यस्तो सा–साना कुरामा नअल्झिनु भन्यो ।’
नगरपालिकाले गाउँका किसानहरुले १–२ वटा खसी बोका बेच्दा समेत प्रति खसी बोका रु २०० रुपैँयाका दरले रकम असुली गर्ने गरेको घिमिरेको भनाई छ । ‘दुई–चार रुपैँया भने पनि बढी भाउ आउला भनेर बजारमा बेच्न लगेको खसीबोकाबाट पनि रकम लिन्छ’, उनले भने, ‘व्यवसायीक रुपमा गर्नेहरुलाई त ठिकै होला तर हामी जस्तो एक दुईवटा बेच्नेबाट पैसा उठाउनु सरासर अन्याय हो ।’
पालिकाले अस्वभाविक रुपमा रकम असुल गर्न थालेपछि कृषिजन्य सामाग्री किनबेचको दर घटेको उनको गुनासो छ ।पालुङटार नगरपालिकाका सूचना अधिकारी पोखरेलले पनि नियम विपरित शुल्क उठाएको स्वीकार गरेका छन् । नगरपालिकाको प्रावधान अनुसार पालिकाभित्र उत्पादन भएका कृषिजन्य सामाग्री, पशुचौपाया र नदिजन्य सामाग्रीहरुबाट रकम असुली गर्नुपर्नेमा ठेक्का सम्झौता भएको उक्त कम्पनीले पालिका बाहिरका व्यक्तिहरुसँग पनि रकम असुली गरेको पाइएको उनले बताए ।
‘सम्झौतामा पालिकाभित्र उत्पादन भई व्यवसायीक प्रयोजनका लागी पठाउन लागिएका कृषि सामाग्री तथा पशु चौपाया र नदिजन्य सामाग्रीबाट मात्र रकम लिन पाउने भन्ने छ तर उनीहरुले सबैबाट रकम उठाएछन्, यो गलत हो,’ उनले भने । यसबारे थप बुझेर आवश्यक प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ । यस विषयमा थप बुझ्न महादेव कन्स्ट्रक्सन कम्पनीका प्रोपाइटरलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।




