| मङ्लबार, कार्तिक २४, २०८३

घुम्ति सेवामार्फत टोलटोलमा पुगेर सेवा दिदैँ वडा कार्यालय

शहिदलखन गाउँपालिका वडा नम्वर ७ को कार्यालयले घुम्ति सेवामार्फत टोलटोलमा पुगेर सेवा दिन थालेको छ । दुरीको हिसावले वडा कार्यालयबाट टाढा पर्ने टोललाई लक्षित गरी घुम्ति सेवा संचालन गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । बिचभंगार, मास्कीछाप, मकैपुर, डाँडागाउँ, निम्जुङ र देउराली लगायतका टोलमा घुम्ति सेवा संचालन गरिएको उनले जानकारी दिए ।

‘घुम्ति सेवामार्फत घटना दर्ता, सम्पत्ति तथा भूमि कर संकलन, व्यवसाय दर्ता तथा नविकरण, सिफारिस लगायतका सेवाहरु दिएका छौ,’ उनले भने, ‘यो बर्ष हालसम्म पाँचवटा टोलमा घुम्ति सेवा संचालन गरिसक्यौ ।’ उक्त कार्यलाई निरन्तरता दिदै लैजाने उनले जानकारी दिए ।

घुम्ती सेवाबाट हालसम्म एक सय ७० जना वडाबासीले सेवा लिएको वडाका कर्मचारी रुद्रबहादुर रानाले बताए । सेवावापत ६७ हजार ८५० रुपैँया राजश्व संकलन भएको उनले जानकारी दिए । घुम्ती सेवाको क्रममा नागरिकहरुलाई वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधाबारे पनि जानकारी गराइएको उनको भनाइ छ । ‘कतिपयलाई कर कहिले तिर्ने ? कहिलेसम्म तिर्दा छुट पाइन्छ ? कहिलेबाट जरिवाना लाग्छ ? लगायत कुराहरु थाहा हुँदैन । हामीले घुम्ती सेवासँगै नागरिकहरुलाई यी कुराहरुको बारेमा पनि जानकारी दिँदै आएका छौँ’, उनले भने । विभिन्न टोलका किराना पसलहरु दर्ता तथा नविकरणको काम समेत भईरहेको रानाले बताए ।

घुम्ती सेवा कार्यक्रमले वडाका बृद्धबृद्धा तथा अन्य नागरिकहरुलाई थप सहज भएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । कर्मचारी तथा जनप्रतिनिधिहरुको उचित व्यवस्थापन गरेर घुम्ती सेवा संचालन गरेको उनले बताए । ‘घुम्ति सेवा संचालन भएपनि वडा कार्यालय बन्द हुदैन, घुम्ती सेवा पायक पर्नेले यहीँबाट र वडा कार्यालय पायक पर्नेले वडा कार्यालयबाटै सेवा लिन सक्छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्