| सोमवार, कार्तिक २३, २०८३

सामुदायिक (भुस्याहा) कुकुर नियन्त्रण आवश्यक

इमान्दार पहरेदार जनावरको रुपमा कुकुरलाई लिने गरिन्छ । घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर मानिने कुकुरलाई अपराधी पत्ता लगाउन पनि प्रयोग गरिन्छ । संसारका ठूला अपराधी पत्ता लगाउन कुकुर प्रमुख सहयोगी हुने गरेका उदाहरणहरु पनि धेरै छन् ।

प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुनु अघि पूर्व सूचना समेत कुकुर दिने गर्दछ । कुकुर इमान्दार र बफादार जनावर पनि हो । घरको रेखदेखको काम पनि कुकुरले नै गर्छ । त्यसैले त अधिकांशले घरमा कुकुर पालेको देखिन्छ । गोरखाकै कुरा गर्ने हो भने पनि पछिल्लो समय घरघरमा कुकुर पाल्ने क्रम बढ्दो छ । केहीले राम्रै स्याहार सुसार गरेर पालेको देखिन्छ ।

तर रहरले पाल्ने र हेरबिचार गर्न नसकेर छाडा छाडिदिने प्रवृति पनि बढ्दो देखिन्छ । जसका कारण अहिले सडक र गल्लीहरुमा सामुदायिक (भुस्याहा) कुकुरको विगविगी बढ्दो छ । उनीहरुले आतंक पनि मच्चाइरहेका छन् । तिनै कुकुरको टोकाइबाट रेविज लाग्न सक्ने जोखिम उच्च हुन्छ ।

सामुदायिक (भुस्याहा) कुकुरको विगविगीकै कारण सहज रुपमा मानिसहरु आउजाउ गर्न मुश्किल हुने गरेको छ । बालबालिका र बृद्धबृद्धालाई झनै समस्या । सामुदायिक (भुस्याहा) कुकुर नियन्त्रण गर्नु अति आवश्यक छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र केही पालिकाहरुले कुकुर बन्ध्याकरण शिविर पनि संचालन गरिरहेका छन् ।

नियन्त्रणका लागि शिविर मात्र पर्याप्त छैन । मुख्य कुरा त कुकुर पाल्न रहर गर्नेले त्यसको उचित स्याहार सुसार र हेरबिचार गर्नुपर्छ । अन्यथा सम्बन्धित निकायले उनीहरुलाई कारवाहीको दायरामा पनि ल्याउन सक्नुपर्छ । सामुदायिक कुकुर नियन्त्रणमा एक्यवद्धता जनाऔ ।

प्रतिक्रिया दिनुहोस्