
प्रविधिले रित्तिदै पोष्टबक्स, अतिरित्त हुलाक कार्यालय धमाधम बन्द हुँदै
जिल्ला हुलाक कार्यालय मातहत रहेका अतिरिक्त हुलाक कार्यालयहरु बन्द भएका छन् । चिठी आदानप्रदान कम हुन थालेपछि २१ वटा कार्यालयहरु बन्द गरिएको हो । यसअघि जिल्लामा कुल ५६ अतिरित्त हुलाक कार्यालयहरु थिए ।
सरकारको निर्णय अनुसार उक्त कार्यालयहरु खारेज गरिएको कार्यालयका सूचना अधिकारी नगेन्द्र आले मगरले बताए । ‘सरकारले गतवर्ष प्रस्तुत गरेको बजेटमा अतिरित्त हुलाक कार्यालय खारेज गर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘सोही बमोजिम जिल्लामा पनि अतिरिक्त कार्यालयहरु बन्द भएका हुन् ।’ त्यहाँ कार्यरत कर्मचारीहरुलाई गत साउनमा नै सेवा सुविधा दिएर घर पठाइएको उनले जानकारी दिए ।
त्यस्तै एउटा इलाका हुलाक कार्यालय पनि बन्द गरिएको छ । ‘जिल्लाभर १२ वटा इलाका हुलाक कार्यालय थियो,’ मगरले भने, ‘एक स्थानीय तह, एक इलाका हुलाक कार्यालय कार्यक्रम लागू भएसँगै एउटा कार्यालय बन्द ग¥यौ ।’ जिल्लामा हाल ११ वटा मात्र इलाका हुलाक कार्यालय र २५ वटा अतिरिक्त हुलाक कार्यालय रहेको उनले जानकारी दिए ।
ती कार्यालयले हुलाकमार्फत आउने चिठी पत्र गाउँघरमा लैजाने काम गर्थे । तर पछिल्लो समय प्रविधिमा भएको विकासले चिठी आदान प्रदानको संख्या घट्दो छ । व्यक्तिगत चिठीपत्र तथा सामाग्रीहरु निकै कम मात्रामा आउने गरेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म कार्यालयमा १२ हजार ७ सय ६५ वटा चिठीपत्र आदान प्रदान भएका छन् ।
जसमध्ये करिब ८० प्रतिशत चिठी सरकारी कार्यालयका छन् । बाँकी २० प्रतिशत भने व्यक्तिगत रहेको सूचना अधिकारी मगरले बताए । ‘व्यक्तिगत अन्तरगत पनि धेरैजसो बैँक तथा वित्तिय संस्थाहरुको चिठीहरु नै हुन्छन्’, उनले भने ।
कार्यालयको तथ्याङ्क अनुसार गत आव व्यक्तिगत र सरकारी गरी कुल २२ हजार २३० वटा चिठीपत्र आदान प्रदान भएको थियो । यस्तै, आव २०७९/८० मा १७ हजार ४९ र २०७८/७९ मा १६ हजार ३४ वटा चिठीपत्र आदान प्रदान भएको कार्यालयले जनाएको छ ।




