
४८ वटा कुकुरको बन्ध्याकरण
घरपालुवा तथा सामुदायिक कुकुरलाई रेविज बिरुद्धको खोप तथा बन्ध्याकरण शिविर सम्पन्न भएको छ । केन्द्रिय रिफरल पशु चिकित्सालय काठमाडौंको प्राविधिक सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको आयोजनामा भएको शिविरमा कुल ४८ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
उनीहरुलाई रेविज बिरुद्धको खोप पनि लगाइएको कार्यालयका सुदिप बिकले बताए । सन् २०३० सम्म मानवलाई हुने रेविज मुक्त गर्ने लक्ष्य सहित बिभिन्न पालिकाहरुमा शिविर संचालन भइरहेको उनले जानकारी दिए । उनका अनुसार गोरखा नगरपालिका, आरुघाट र शहिद लखन गाउँपालिकामा शिविर सम्पन्न भइसकेको छ ।
उक्त शिविरमा कार्यालयले प्राविधिक सहयोग समेत गरेको थियो । बाँकी पालिकाहरुमा पनि शिविर संचालन हुने उनले जानकारी दिए । सामुदायिक कुकुरहरु सडकमा छाडा छाडिने र उक्त कुकुरको टोकाइबाट रेविज हुनसक्ने जोखिम बढेकाले बन्ध्याकरण गरिएको कार्यालयले जनाएको छ । बन्ध्याकरणबाट सामुदायिक कुकुरको संख्या नियन्त्रण हुने बताइएको छ ।




