
सरकारी कार्यालयको सेवा सहज होस्
सरकारी कार्यालयको सेवा लिन धेरै नै सास्ती खोप्नुपर्छ भन्ने गुनासो सेवाग्राहीबाट आइरहन्छ । त्यसमाथि कर्मचारीको रुखो व्यवहारले आजित हुन्छन् उनीहरु । बिशेष गरी प्रशासन कार्यालयबाट प्रवाह हुने गरेका सेवामा उनीहरुको बढी गुनासो हुन्छ ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र लगायतका सेवामा अलि बढी नै समस्या छ सेवाग्राहीलाई ।
एक त ग्रामिण भेगबाट धाएर आउनुपर्ने अर्काे एक/दुई दिन नै सदरमुकाममा बस्नुपर्ने बाध्यताले उनीहरुलाई हैरान बनाउँछ ।
पछिल्लो समय राष्ट्रिय परिचय पत्रको बाध्यकारी व्यवस्थाले जिल्लावासीले अनावश्यक दुख पाइरहेका छन् । पर्याप्त जनशक्ति र उपकरणको अभाव खड्किएकै देखिन्छ । त्यसमाथि कहिलेकाही कार्यालयको सानो लापरवाहीका कारण सेवाग्राहीले अनायसै थप समस्या र दुख झेल्नुपरेका उदाहरणहरु पनि छन् ।
राष्ट्रिय परिचय पत्र बनाउने क्रममा पुराना नागरिकता कम्प्युटरको सिस्टममा अपलोड नहुने समस्याले जवरजस्त नागरिकताको प्रतिलिपि बनाउन बाध्य छन् सेवाग्राहीहरु । यसले सेवाग्राहीलाई मात्र होइन कार्यालयका कर्मचारीलाई कामको थप बोझ समेत थपिदिएको छ । हुन त प्रशासन कार्यालयको पनि सेवाग्राहीलाई दुख दिने नियत पक्कै नहोला ।
तर कार्यालयमा देखिएको सेवाग्राहीको भिडलाई मध्यनजर गर्दै सरलीकरणका लागि केही योजनाहरु बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि हुन्छ । त्यसमा नेतृत्व गर्नेले नै अग्रणी भूमिका निर्वाह गरेर आफूलाई अब्बल सावित गर्न सक्नुपर्छ ।
जनशक्ति थप गर्ने हो की ? कार्यालय समय वाहेक अन्य समयमा पनि सेवा प्रवाहलाई निरन्तरता दिने हो की ? यस्ता उपायहरुबारे पनि सोच्नु जरुरी छ । अनि मात्र सेवाग्राहीहरुले सहज रुपमा सेवा पाउने थिए । सरकारी कार्यालयको सेवा सहज रुपमा उपभोग गर्न सेवाग्राहीले पाउन् । कर्मचारीले गर्ने व्यवहारमा पनि परिवर्तन आओस् ।




