
राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको सहजताका लागि स्टेशन थप
राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले स्टेशन थप गरेको छ । यसअघि दुई वटा स्टेशनबाट सेवा दिदै आएपनि फागुन महिनाबाट नयाँ स्टेशन थप गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।
‘सेवाग्राहीको चाप बढेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागबाट कर्मचारी माग गरेका थियौ,’ उनले भने, ‘बिभागले आवश्यक उपकरणसहित एउटा प्राविधिक कर्मचारी पठाइदियो अनि स्टेशन थप गरेर सेवा प्रवाह सुरु ग¥यौ ।’ नयाँ स्टेशन थप भएसँगै राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सहज भएको उनले बताए ।
‘यसअघि कतिपय सेवाग्राही काम नभएर फर्केर जानुपर्ने बाध्यता थियो, स्टेशन थप गरेर सेवा दिन थालेपछि आएका सेवाग्राही लगभग फर्कनु परेको अवस्था छैन,’ उनले भने । कहिलेकाही भने ‘सिस्टम ह्याङ’ हुदाँ समस्या हुने गरेको उनले जानकारी दिए ।
अहिले दैनिक एक सय भन्दा बढी सेवाग्राहीको राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम हुने गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार स्टेशन थप हुनु अघि बढीमा ८० जना सेवाग्राहीको पनि विवरण संकलनको काम गर्न कठिन हुन्थ्यो ।
जिल्लाका बिभिन्न पालिकामा राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि प्रशासन कार्यालयले बिभागसँग घुम्ति टोलिको माग समेत गरेको छ । यसअघि पालिका स्तरमा संचालन गरिएको घुम्ति शिविरमा संकलन गरिएको केही तथ्याङ्कहरु हराएकाले समस्या भएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक बर्षको फागुनमसान्त सम्म कार्यालयले १२ हजार ७४७ जनाको राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरेको छ । जसमध्ये ५ हजार ६९० जना महिला र ७ हजार ५७ जना पुरुष छन् । ६ हजार २९ जनालाई राष्ट्रिय परिचय पत्र वितरण भएको छ । हाल करिव ३० हजारभन्दा बढी राष्ट्रिय परिचय पत्र कार्यालयमा थन्किएको प्रजिअ पौडेलले बताए । उक्त परिचय पत्र लिएर जान प्रशासनले सम्बन्धित सेवाग्राहीहरुलाई आग्रह समेत गरेको छ ।




