| मङ्लबार, कार्तिक २४, २०८३

कर्मचारीको लापरवाहीका कारण दुर्गमका नागरिकलाई सास्ती

प्रतीक्षा आले ।
‘वृद्धभत्ता खान कार्ड नभै हुन्न भन्छन् । तीनवर्ष अघि गाउँमा गएको टोलीले फाराम भरेको थियो । कार्ड आज आउला छैन, भोलि आउला छैन । कुर्दाकुर्दै तीनबर्ष बितिसक्यो’, गोरखाको दुर्गम गाउँ केरौँजाका ७० वर्षीय भीमबहादुर गुरुङ पीर पोख्छन्, ‘अहिले आएर नम्बर बिग्रिएको छ भन्छन् । सच्याउनु प¥यो भनेर तीन दिनदेखि धाएको छु तर काम भाको छैन । कहिले कुन कागज ले भन्छन्, कहिले कुन । पढ्न जान्दिनँ त्यसैले छोरालाई पनि लिएर आको छु ।’ आज भने पक्कै काम बन्छ भन्ने आशामा उनी सोमबार दिउँसो साढे चार बजेसम्म लाइनमै उभिरहेका थिए ।

तीनबर्ष अघि फोटो खिचाएर परिचयपत्र नपाएका उनीमात्र एक्ला छैनन् । उनका गाउँका कसैले पनि अहिलेसम्म परिचयपत्र त परको कुरा, नंबरसम्म पनि पाएका छैनन् । धार्चे गाउँपालिका वडा नं. २ र पालुङ्टार नगरपालिका २ का सबैको विवरण बिग्रिएकाले कसैको पनि परिचय पत्र नआएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले स्वीकार गरे । प्राविधिक समस्याका कारण अरु पालिकाका सेवाग्राहीले पनि सास्ती पाएका उनको भनाइ छ ।

धार्चे २ केरौंजा, लामावेशी र रुञ्चेत गाउँका सबैजना फेरि परिचयपत्र बनाउन शनिबार बस रिजर्भ गरेर सदरमुकाम आएका छन् । उनीहरुको काममा सहजिकरण गर्न वडाअध्यक्ष सरोज गुरुङ पनि साथ लागेर सदरमुकाम झरेका छन् । उनीहरु सबैजना सदरमुकामको होटलमा महंगो खर्च गरेर बस्न बाध्य छन् ।

‘सरकारले वैँक खाता खोल्न पनि राष्ट्रिय परिचयपत्र अनिबार्य ग¥यो । वृद्धभत्ता खान पनि कार्ड अनिबार्य भयो’, वडाअध्यक्ष गुरुङ भन्छन्, ‘सरकारले आगामि आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता लिनका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र अनिबार्य गरेकाले अहिले सबैजना परिचयपत्र बनाउन झरेका हौँ । कसैको नागरिकता नै बनाउनु पर्ने, कसैलाई कुनै सिफारिस चाहिने भन्छन् । त्यही भएर म पनि आएको हुँ ।’

प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउन २०७९ साल असोजमा सबै स्थानीय तहहरुमा टोली परिचालन गरेको थियो । दैनिक एकहजार रुपैयाँ सेवा, सुविधा दिएर करारमा कर्मचारी नियुक्त पाँच महिनासम्म फिल्डमा खटाएको थियो । तर, कर्मचारीहरुको लापरवाहीका कारण धार्चे गाउँपालिका २ र पालुङ्टार २ का सबैको, धार्चे ५, गोरखा नगरपालिकाको वडा नं ८ र अजिरकोट गाउँपालिकाको १ नम्बर वडाका सेवाग्राहीहरुको परिचय पत्र विवरणमा त्रुटी देखिएको कार्यालयले जनाएको छ ।

दुईवर्ष अघि परिचय पत्रको फारम भरेको नम्बर हाल सिस्टममा इन्ट्री नहुँदा समस्या आएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । पहिलाको नम्बर इन्ट्री गर्दा सिस्टमले नै रिजेक्ट गरिदिएपछि पुन फारम भर्नुपर्ने अवस्था सिर्जना भएको उनले जानकारी दिए । ‘धार्चे गाउँपालिका–२ र पालुङटार नगरपालिका–२ को सबै र अन्य स्थानिय तहहरुको हकमा केहीको फारम नम्बर सिस्टममा इन्ट्री भएको रहेनछ’, उनले भने, ‘पहिला फारम भर्ने बेलाकै गल्तीका कारण यो समस्या आएको हो । समस्या देखिएकाहरुले कार्यालयमा आएर पुन नयाँ फारम भर्नुपर्ने भयो ।’

राष्ट्रिय परिचय पत्रको फारम भर्ने क्रममा नागरिकतामा भएका सूचनाहरु प्रष्ट रुपमा नभरेमा, औँठा छाप लिँदा र फोटो खिच्दा ध्यान नपु¥याएमा यस्ता समस्याहरु देखिने सहायक प्रजिअ बरालको भनाई छ । साथै नेपाल टेलिकमको इन्टरनेटको मात्र प्रयोग गर्नुपर्नेमा त्यस्तो नभएकाले सास्ती पाएको उनको भनाइ छ । धार्चे गाउँपालिका वडा नं २ का वडाअध्यक्ष सरोज गुरुङले पनि आफ्नो वडाबाट परिचय पत्रको फारम भरेका सबैजनाकोमा त्रुटि देखिएको बताएका छन् ।

फारम भरेको दुई वर्षपछि त्रुटि देखाइदिँदा स्थानीयहरुलाई समस्या आएको उनको भनाइ छ । ‘फाराम भरेको दुई वर्षपछि मिलेन भनिदियो । त्यसैले गाउँलेहरु उर्लिएर परिचय पत्र बनाउन आएका छन्’, उनले भने, ‘अहिले बैँक खाता खोल्न, भत्ता बुझ्न र पेन्सन बुझ्न पनि अनिवार्य रुपमा परिचय पत्र चाहिने भनेपछि झनै गाउँलेहरु आत्तिएर आएका हुन् ।’ कर्मचारीहरुको लापरवाहीका कारण विकटका स्थानीयहरुले दुख खेप्नु परेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्