| आइतवार, कार्तिक २२, २०८३

म्याद गुज्रिएको आठ महिना बितिसक्दा पुलको काम ५० प्रतिशत

प्रतीक्षा आले ।
बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत नौलीखोला मोटरेबल पुल निर्माण गर्न तोकिएको म्याद गुज्रिएको आठ महिना भइसक्यो । धार्चे ७ मा निर्माण गर्न लागिएको मोटरेबल पुलको काम अहिलेसम्म जम्मा ५० प्रतिशत भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

गत साउनमा निर्माण सम्पन्न गर्नुपर्ने सो पुल अहिलेसम्म आधाजसो काम मात्र सकिएको कार्यालयले जनाएको छ ।
चार करोड ३५ लाख लागतमा डेढबर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सूर्योदय कन्स्ट्रक्सनले सो पुल निर्माणको काम २०७९ मा ठेक्का सम्झौता गरेको थियो । तर समयमा सम्पन्न नभएपछि आउँदो असारसम्म सम्पन्न गर्नेगरी म्याद थप गरिएको पूर्वधार विकास कार्यालय गोरखाले जनाएको छ ।

हाल पुलको स्ल्याव ढलानको तयारी भइरहेको कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले बताए । गाडी हिँड्ने बैकल्पिक बाटो नहुँदा काम गर्न ढिलाई भएको उनले जानकारी दिए । ‘बर्खाको बेलामा खोला बढेर काम गर्न सम्भव हुँदैन त्यसले गर्दा पनि ढिला भएको हो । ठेकेदार कम्पनीको लापरबाहीका कारण पनि काम समयमा हुन नसकेको हो’, उनले भने ।

सो पुलको ३५ मिटर लम्बाइ, ८.४० मिटर चौडाइ भएको सो पुल निर्माण गर्न लागिएको हो । नेपाली सेनाले निर्माण गरेको बेनिघाट, आरुघाट, लार्के सडकअन्तर्गत धार्चे ७ नौलीखोलामा प्रिस्ट्रेस प्रविधिको पुल निर्माण भइरहेको इन्जिनियर श्रेष्ठ बताउँछन् । उनले भने, ‘हाल दुवैतर्फ जीप उठाएर स्ल्याव ढलान गर्ने तयारी भइरहेको छ ।’

लार्के सडक खण्डअन्तर्गत सोती, आर्खेत र छेपारे खोलामा तीनवटा मोटरेबल पुल निर्माण भइरहेका छन् । ‘अप्ठ्यारो बाटोमा ढलानको काम पनि भइरहेको छ,’ इन्जिनियर श्रेष्ठले भने, ‘नौलीखोलाको पुल बनेपछि माछाखोलासम्म बाह्रै महिना सवारी आउजाउ गर्न सकिन्छ ।’लार्के सडकअन्तर्गत नै आर्खेत खोलामा ५ करोड ५६ लाखको लागतमा ४० मिटर लम्बाइको पुल गत वर्ष नै निर्माण सम्पन्न भइसकेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्