| मङ्लबार, कार्तिक २४, २०८३

आफ्नै नाममा फाउण्डेशन बनाएर सामाजिक काम गर्दै मास्के

गोरखाका एक समाजसेवीले आफ्नै नाउँमा फाउण्डेशन स्थापना गरी समाजसेवामा सक्रिय भएका छन् । गोरखा नगरपालिका ६ बसपार्क निवासी बद्री मास्केले धर्मपत्नी र आफ्नो नाममा बद्री एण्ड चित्रा मास्के(बिसिएम) फाउण्डेशन स्थापना गरी सामाजिक काम गर्न सुरु गरेका हुन् ।

फाउण्डेशनले विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम सुरु गरेको छ । यसअघि फ्रान्स, जर्मनी, बेलायतलगायतका देशका दातृसंस्था तथा सहयोगी समकक्षीहरुसंग सहकार्य गरी व्यक्तिगत तबरले सामाजिक काम गरिरहेका मास्केले केही महिनाअघि आफ्नै नाउँमा बिसिएम फाउण्डेशन खडा गरेका हुन् ।

समुदायमा सकारात्मक परिवर्तन र दीगो विकास गर्ने उद्देश्यले फाउण्डेशन स्थापना गरी काम गर्न थालेको मास्के बताउँछन् । शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार निर्माणमा पनि काम गर्ने दीर्घकालीन उद्देश्य रहेको उनको भनाइ छ । रोजगार तथा स्वरोजगार सिर्जना गरीसीमान्तकृत समुदायलाई आत्मनिर्भर बनाउने, समावेशी प्रतिनिधित्वको अवधारणालाई सशक्त बनाउने फाउण्डेशनको उद्देश्य रहेको मास्केको भनाइ छ ।

त्यस्तै विभिन्न किसिमका भौतिक पूर्वाधार विकासमा साझेदारी गर्ने, दिगो सामुदायिक विकासको परियोजना सञ्चालन गर्ने फाउण्डेशनको उद्देश्य रहेको छ । ग्रामीण भेगका स्वास्थ्य संस्थाहरुमा जनशक्ति तथा स्वास्थ्य सामग्रीहरु, उपकरणहरु उपलब्ध गराई सहयोग गर्ने, विद्यार्थीहरुलाई स्वास्थ्य(मेडिकल) क्षेत्रमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने, विद्यालय तहमा पढ्ने बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने जस्ता काम पनि फाउण्डेशनले गर्न सुरु गरेको छ ।

सार्वजनिक स्वास्थ्य प्रणालीको वृद्धि र विकास गर्न स्वास्थ्य शिक्षालाई जोड दिने, स्वच्छ स्वस्थ वातावरण निर्माणमा काम गर्ने पनि फाउण्डेशनको लक्ष्य छ । आफ्नो जीवनको लामो कालखण्ड स्वास्थ्य तथा शिक्षा सेवामा बितेकाले बाँकी समय पनि यही क्षेत्रमा सहयोग गर्ने मनसुवा भएकाले फाउण्डेशन खडा गरी काम गरेको मास्के बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्