
४ जिपिए ल्याउनेलाई सहिदलखनद्वारा ५० हजारसम्म इनाम घोषणा
गोरखाको सहिदलखन गाउँपालिकाले आउदो एसईई र बिएलई (कक्षा ८) को परिक्षमा चार जिपिए ल्याउने पालिकाभित्रका विद्यार्थीलाई इनाम घोषणा गरेको छ । एसईईमा ४ जिपिए ल्याउनेलाई रु ५० हजार र पालिकास्तरीय आधारभूत तहको परीक्षामा ४ जिपिए ल्याउनेलाई दश हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
पालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गरी उच्च सिकाइ उपलब्धी हासिल गर्ने शिक्षक विद्यार्थी सम्मान कार्यक्रम अन्तरगत पुरस्कार घोषणा गरेको जनाएको छ । पालिकाले एसईईमा ४ जिपिए ल्याउनेलाई रु ५० हजार, ३.९० देखि ३.९९ जिपिए ल्याउनेलाई ४० हजार, ३.८० देखि ३.८९ जिपिए ल्याउनेलाई ३० हजार पुरस्कार प्रदान गर्ने जनाएको छ ।
त्यस्तै ३.७० देखि ३.७९ जिपिए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जिपिए ल्याउनेलाई १० हजार नगद पुरस्कार प्रदान गर्ने जनाएको छ । यस्तै, कक्षा आठको बिएलई परिक्षामा ४ जिपिए ल्याउनेलाई रु दश हजार, ३.९० देखि ३.९९ जिपिए ल्याउनेलाई आठ हजार, ३.८० देखि ३.८९ जिपिए ल्याउनेलाई छ हजार पुरस्कार प्रदान गर्ने जनाएको छ ।
त्यस्तै ३.७० देखि ३.७९ जिपिए ल्याउनेलाई चार हजार र ३.६० देखि ३.६९ जिपिए ल्याउनेलाई दुई हजार नगद पुरस्कार प्रदान गर्ने जनाएको छ । यसबर्षको एसईई परीक्षामा सहिदलखन गाउँपालिकाबाट नियमिततर्फ एक सय ९९ जनाले एसईई परीक्षा दिदैछन् । कक्षा आठतर्फ दुई सय दशजना परिक्षार्थीहरु सहभागी हुने पालिकाको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।
विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने र नतिजा समेत सुधार गर्ने उद्देश्य सहित यस्तो कार्यक्रम ल्याएको उनले जानकारी दिए । ‘कक्षा १० र कक्षा आठसँगै १२ का विद्यार्थीलाई पनि यो कार्यक्रम लागु हुन्छ । विद्यार्थीहरुलाई पढ्न हौसला मिलोस् भनेर कार्यक्रम गरेका हौँ’, उनले भने, ‘पालिकाले विद्यार्थीहरुलाई मात्र नभएर उत्कृष्ट शिक्षकलाई पनि पुरस्कृत गर्ने व्यवस्था मिलाएको छ ।’ उत्कृष्ट विद्यार्थी तथा शिक्षक पुरस्कार दिने कार्यक्रमलाई आगामि दिनहरुमा पनि निरन्तरता दिइने उनले बताएका छन् ।




