
स्थानीयबासी तयार भइसके, फुटपाथ छिटो बनाऊ
गोरखा बजारको बसपार्क टोल अहिले अस्तव्यस्त छ । सडक, नाला र फुटपाथ स्तरोन्नति गर्ने भनी खनेर लामो समयसम्म काम अघि नबढाउँदा बजार क्षेत्र अस्तव्यस्त बनेको हो ।
काम अलपत्र हुँदाको दुश्प्रभाव सबैलाई छ, तथापि कुनातर्फका व्यापारी, व्यवसायी तथा घरधनी बढि समस्यामा छन् । कतिपयले सटर बन्द गरेर बसेको धेरै दिन भइसकेको छ । कतिपयको सटर खुल्ला भए पनि फुटपाथमा हिँड्न नमिल्ने हुँदा कुनातर्फको व्यापार, व्यवसाय ठप्पप्राय नै छ । धुलो उँडेर उत्तिकै समस्या छ ।
तसर्थ निर्माणको काममा कत्तिपनि ढिला नगर्न नगरपालिका, वडा कार्यालयले सरोकार राख्नुपर्छ । त्यहाँ गोरखा नगरपालिका र गोरखा सडक योजना कार्यालयले सडक फराकिलो बनाउने, स्तरीय नाला बनाउने र फुटपाथ पनि बनाउने कार्यक्रम तय गरेका हुन् ।
यसअघि स्थानीय घरधनीले घरअघि, आँगनमुनिको सेफ्टीट्याङ्की नहटाएको भन्दै कार्यक्रम कायान्वयन गर्ने निकायले काम सुरु गरेके थिएनन् । तर अहिले सबै घरधनीले सेफ्टीट्याङ्की हटाइसकेका छन् । अब काम गर्ने पालो आएको छ, गोरखा सडक योजना कार्यालय र नगरपालिका कार्यालयको । यसअघि स्थानीयबासीलाई ताकेता गरेजस्तै अब स्थानीयले नगरपालिका र सडक योजना कार्यालयलाई ताकेता गरिरहेका छन् ।
आँगनमुनि रहेको सेफ्टीट्याङ्की हटाउने क्रममा सडक छेउछाउको नालीहरु पुरिएको छ । जसले गर्दा ठूलो पानी पर्दा सडकबाट पानी बग्ने समस्या भएका छ । नाली डम्माडम्मी पुरिएको छ । जब ठूलो पानी पर्छ, तब सबै पानी सडकबाटै बग्ने खतरा देखिएको छ । तसर्थ जति सक्दो छिटो काम सुरु हुनु पर्नेछ ।
सो योजनाका लागि गोरखा सडक योजनाको एक करोड ७१ लाख र गोरखा नगरपालिकाले २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । निर्माण सामग्री पनि जुटाइरहेको छ । अब काम पनि छिटो होओस् ।




