
दरौँदी पुलजीपमा चार मिटर लामो प्वाल, टालटुल गरी काम चलाउ
प्रतीक्षा आले ।
गत असोज १० र ११ गते परेको भिषण बर्षाले गोरखा नगरपालिका–१२ र पालुङटार नगरपालिका–९ जोड्ने दरौँदी पुलजीपमा खाल्डो प¥यो । ६ मिटर चौडाइ रहेको पुलमा करिब चार मिटर लामो प्वाल परेको पूर्वाधार विकास कार्यालयको भनाइ छ ।
भरतपुरको इलाइट एड्भेन्चर धनाथान जेभीले २०७८ मा चार करोड ६६ लाख लागतमा निर्माण गरेको सो पुलको कमजोर संरचनाका कारण तीनबर्ष तबित्दै खाल्डो परेको हो ।
लामो समयदेखि पुलजीप मर्मत नहुँदा सो पुल वारपार गर्ने सवारी साधन तथा व्यक्तिले सास्ती खेप्नुपरेको छ । एसईई दिन आवतजावत गर्ने विद्यार्थीसमेत समस्यामा परेका पालुङटार ९ का वडाअध्यक्ष भेजराज पाण्डेको गुनासो छ । बाइक, स्कुटर लगायत साना गाडी ओहोर दोहोर गरेतापनि सो ठुल्ठुला बस गाडीहरु सो पुल तर्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए ।
‘यहाँबाट एसईई दिने परीक्षार्थीहरुको परीक्षा केन्द्र गोरखा नगरपालिका–१२ स्थित महेन्द्र मावि कुन्दुरमा परेको छ । पुलमा प्वाल परेकाले विद्यार्थीहरुलाई पु¥याउन, ल्याउन समस्या भएको छ’, उनले भने, ‘एसईई परीक्षालाई मध्यनजर गरेर अस्थाई रुपमा फलामको पत्ता राखेर ओहोर दोहोर गराउने व्यवस्था मिलाएका छौँ ।’ समयमा पुल मर्मत नगरे बर्खाको समयमा झनै ठुलो क्षति हुन सक्ने उनको भनाइ छ ।
पुलजीपको खाल्डोका कारण जोखिम बढेपछि केही दिनयता स्थानीयबासीले सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् । आलोचना बढेपछि बिहिबार ढुंगामाटो राखी खाल्डो टालटुल गरिएको छ । कच्ची संरचना भएकाले तीनबर्ष नबित्दै पुलजीपमा प्वाल परेको गोरखा नगरपालिका वडा नं १२ का वडाअध्यक्ष डिल बहादुर थापाले बताए ।
प्वाल परेको छ महिनापछि अहिले पुल मर्मतका लागि टेन्डर समेत पास भइसकेको उनले जानकारी दिए । ‘तलैबाट भास्सिएर ठुलो प्वाल परेको छ, त्यसलाई मर्मत गर्न खोलाबाटै आरसिसि गरेर उठाउनुपर्ने हुन्छ’, उनले भने, ‘बजेट नआएर मर्मत गर्न ढिला भएको हो । हाल बजेट आईसकेको छ अब छिटै काम सुरु हुन्छ ।’
पूर्वाधार बिकास कार्यालयका इन्जिनियर मोहन श्रेष्ठका अनुसार पुल मर्मतका लागि ठेक्का सम्झौता भइसकेको छ । यही चैत ५ गते श्रीपाली कन्स्ट्रक्सनसँग २२ लाखमा कार्यालयले ठेक्का सम्झौता गरेको उनले बताए । यही असार मसान्तभित्र मर्मत सम्पन्न गर्नेगरी सम्झौता भएको उनले जानकारी दिए ।
‘६ मिटर फराकिलो पुलमा झन्डै चार मिटरको ठुलो प्वाल परेको छ, जसका लागि तलबाटै आरसिसी गरेर उठाउनुपर्ने हुन्छ’, इन्जिनियर श्रेष्ठले भने, ‘मर्मतका लागि ठेक्का भइसक्यो । अबको केहीदिन भित्रमा काम सुरु हुन्छ ।’ कार्यालयले छिटो भन्दा छिटो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको उनले बताएका छन् ।




