| सोमवार, कार्तिक २३, २०८३

न्यायोचित मुआव्जा निर्धारण गर

गोरखामा सर्वे लाइसेन्स लिएका, सर्वे भएका, निर्माणको लाइसेन्स लिएका, निर्माण कार्य भइरहेका जलविद्युत आयोजनाहरुको संख्या उल्लेख्य छ । तीमध्य बूढीगण्डकी जलविद्युत आयोजना(३४१मे.वा.)को गतिविधि निकै आशा लाग्दो छ ।

साहस उर्जा प्रवद्र्धक रहेको सो आयोजना चुमनुब्री गाउँपालिका ३ सल्लेरीमा बाँध बाँधी धार्चे ३ तातोपानी आसपास पावर हाउस बनाउने तयारी छ । हाल सो आयोजनाले चर्चिने जग्गाको मुआव्जा निर्धारणको तयारी भइरहेको छ । पटक पटकका बसाइले मुआव्जाबारे समझदारी बन्ने अन्तिम चरणमा पुगेको छ ।

सो आयोजनाले ओगट्ने सल्लेरीको निजी तथा सार्वजनिक गरी १७०० रोपनी क्षेत्रफल जग्गाको मुआव्जा छिट्टै निर्धाण गर्नेछ । सो आयोजनाका कारण सल्लेरी क्षेत्रका करिब २५ घरधुरी बिस्थापित हुनेछन् । उनीहरुलाई उचित मुआव्जा दिने तयारी छ । मुआव्जा दिएर मात्र हुदैन, उनीहरुलाई पुनर्बासको पनि जोहो गर्नुपर्छ । गाउँका बासिन्दा पैसा लिएर सहर गएर बस्न भन्दा पनि आसपास उपयुक्त घडेरी खोजेर बस्न रुचाउँछन् ।

त्यसैले स्थानीय जनप्रतिनिधि, समाजेवी मिलेर विस्थापितहरुका लागि जग्गाको जोहो गरिदिनु आवश्यक छ । करिब ७० अर्बको लागतमा बन्ने बूढीगण्डकी जलविद्युत आयोजना निजी क्षेत्रले बनाउन लागेको अहिलेसम्मकै सबैभन्दा ठुलो आयोजना हो । यसअघि निजी क्षेत्रले जम्मा ८२ मेगावाट जलविद्युत आयोजना मात्र निर्माण गरेको छ, त्यो पनि सहास उर्जाले नै हो ।

साहस उर्जाले साहस दिएपछि सो टिम बूढीगण्डकी आयोजना निर्माण गर्न सरिक भएको हो । साहस उर्जाको टिमको यसअघिको कार्यप्रगति ज्यादै प्रसंसनीय भएकाले बूढीगण्डकीको काम पनि उत्साहजन ढंगले गर्नेछ भन्ने अपेक्षा छ । अबको केही दिनभित्र मुआव्जा निर्धारण, वितरण सकेर निर्माणको काम सुरु गरोस् । निजी क्षेत्रलाई लगानी गर्न, काम गर्न स्थानीय सरकारले पनि उचित वातावरण बनाइदिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्