
बुढीगण्डकी जलविद्युत (३४१ मेगावाट) को मुआब्जा वितरणको अन्तिम तयारी
७० अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । सहास उर्जा कम्पनी प्रवद्र्धक रहेको परियोजना अन्तरगत हाल मुआब्जा निर्धारणको काम भईरहेको परियोजनाका फिल्ड अफिसर गोपी चन्दले बताए ।
‘जग्गाको मुआब्जा लगभग निर्धारण भईसकेको छ,’ उनले भने, ‘हाल आयोजनाबाट बिस्थापित हुने घरहरुको मुआब्जा निर्धारणको काम हुदैछ ।’ आयोजनाले नीजि र सार्वजनिक गरेर १७ सय रोपनी क्षेत्रफल ओगट्ने उनले जानकारी गराए । उनका अनुसार उक्त जग्गामध्ये ५० प्रतिशत जग्गा खरिद गर्ने र बाँकी लिजमा लिने योजना छ ।
परियोजनाबाट चुमनुब्री गाउँपालिका–३ सल्लेरीका २५ घरधुरी विस्थापित हुने फिल्ड अफिसर चन्दको भनाई छ । मुआब्जाको विषयमा कम्पनीले विस्थापित घरधुरी र स्थानीय सरकारसँग बसेर छलफल गरिरहेको उनले बताए । ‘यो महिनाभित्र मुआब्जा निर्धारण गरेर वितरण पनि सुरु गर्छौ’, उनले भने ।
चुमनुब्री–३ का वडाअध्यक्ष रामकुमार गुरुङले पनि सहास उर्जा कम्पनीसँग मुआब्जाको विषयमा छलफल भईरहेको बताए । ‘हाल घरहरुको मूल्य निर्धारणको काम भईरहेको छ । माग धेरै नै छ, दुई पक्षिय छलफल भईरहेको छ’, उनले भने, ‘बस्ती नै छोड्नु परेपछि भनेजती मुआब्जा पाउनु पर्छ भन्ने माग हाम्रो हो ।’
परियोजना सम्पन्न भएपछि यहाँका स्थानियहरुले आ–आफ्नो दक्षता क्षमता अनुसार रोजगारी पाउनु पर्ने स्थानीयको माग छ । मुआब्जाको विषय टुङ्गो लगाउन वडाले आवश्यक पहल गरिरहेको उनले जानकारी गराए । सो आयोजनाका लागि लगानी गर्न १५ भन्दा धेरै वैंकहरुले तत्परता देखाएका छन् । १५ वैंकका ४५ जनाको टिमले आयोजना निर्माणस्थलको स्थलगत निरिक्षण समेत गरिसकेका छन् ।
सो आयोजना पिकिङ रन अफ दी रिभर प्रकृतिको आयोजना हो । यसको मुख्य संरचना बूढीगण्डकी नदीको दायाँ किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । आयोजनाको दैनिक ५ घण्टाको दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिनेछ । यसको डिजाइन बहाव १००.२७ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३९८ मिटर रहने अध्ययनले देखाएको छ ।
बूढीगण्डकी नदीमा बाँध बाँधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानीलाई फर्काउन आयोजनाको मुख्य संरचना सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुदै विद्युत गृहमा पु¥याउने गरी डिजाइन तयार भएको छ । भूमिगत विद्युत गृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोक टर्बाइनमार्फत विद्युत उत्पादन हुनेछ ।
आयोजनको सबै काम योजनावद्ध रुपमा अघि बढे २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । उत्पादित उर्जालाई करिब ४५ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरी नुवाँकोटको रातामाटे सवस्टेशनमा जोडिनेछ । यसअघि सो आयोजना टाइम्स इनर्जी प्रालिले निर्माणको लाइसेन्स प्राप्त गरी काम अघि बढाइरहेको थियो ।
सो प्रालिलाई सहास उर्जाले प्राप्ति गरी निर्माणका लागि आन्तरिक गृहकार्यको गरिरहेको छ । जिल्लामा बन्न लागेको ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना नेपालमा नीजि क्षेत्रले बिकास गरेको आयोजनामध्य हालसम्मकै ठुलो आयोजना रहेको कम्पनीको दाबी छ ।




