
एसी, फ्रिज मर्मत सम्बन्धी नि:शुल्क तालिम सुरु
जिल्ला सदरमुकाममा एसी, फ्रिज लगायतका घरेलु उपरकण मर्मत सम्बन्धी निशुल्क तालिम सुरु भएको छ । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायीक प्रतिष्ठान पोखराको आयोजना र गोरखा उद्योग वाणिज्य संघको समन्वयमा तालिम संचालन भएको हो ।
एक महिनासम्म संचालन हुने तालिमको सोमवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।
तालिमको औपचारिक रुपमा उद्घाटन गर्दै प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले सिपलाई जातियताको आधारमा हेर्ने नजरलाई यस्ता तालिमले परिवर्तन गर्ने बताए । घरायसी उपकरण मर्मतका लागि छिमेकी मुलुकका जनशक्तिमा निर्भर पर्नुपर्ने र सहज रुपमा जनशक्ति उपलब्ध हुन पनि समस्या हुने गरेको उनले सुनाए ।
यस्ता तालिमका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उनले जानकारी गराए । कार्यक्रममा बोल्दै नगर उपप्रमुख मसलीमाया थोकरले यस प्रकारका तालिमले यूवाहरुलाई स्थानिय स्तरमा नै रोजगरीका अवसर सिर्जना गरी विदेश पलायन हुने अवस्थामा कमी आउने बताइन् ।
प्रतिष्ठानका उपसचिव हरिबहादुर खपाङ्गीले मध्यम सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । तालिमबाट दक्षता हासिल गरी आयआर्जनको बाटोमा लाग्न उनले प्रशिक्षार्थीलाई आग्रह समेत गरे । गोरखा उवासंघका अध्यक्ष भगवानबाबु मास्केले अत्याधिक मागको आधारमा घरेलु उपकरण मर्मत सम्बन्धी तालिम संचालन गरिएको जानकारी गराए ।
मास्केको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका अधिकृत हुमनाथ पौडेल, लेखा अधिकृत निलकण्ठ ढकाल, गोरखा उवासंघका निर्वतमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । तालिममा २५ जना सहभागी रहेको बताइएको छ ।




