
भच्चेकमा तीन महिने आधारभूत सिलाइ कटाइ तालिम संचालन हुने
अजिरकोट गाउँपालिका–३ भच्चेकमा तीन महिने निशुल्क आधारभूत सिलाई कटाइ तालिम संचालन हुने भएको छ । सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्रालय (व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र) पोखराको आयोजनामा तालिम संचालन हुन लागेको हो ।
योग्यता पुगेका जो कोही नेपाली नागरिकले तालिम लिन पाउने अजिरकोट गाउँपालिकाले जनाएको छ । ‘कक्षा आठ उतीर्ण गरेका र १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नु हुन्छ’, पालिकाकी रोजगार संयोजक सञ्जु लामिछानेले भनिन्, ‘दलित, अपाङ्ग, सहिद परिवार, द्वन्द्व पीडित, वैदेशिक रोजगारीबाट फर्किएका र एकल महिलालाई विशेष प्राथमिकता दिइने छ ।’
तालिममा सहभागी हुनका लागि चैत १० गतेभित्र गाउँपालिकाको कार्यालय वा पोखरास्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमा आवश्यक कागजातसहित कागजात पेश गर्नुपर्ने उनले जानकारी दिइन् । आवेदकहरुलाई पालिकामा संचालित चैत १३ गतेको अन्तर्वार्ताका आधारमा छनोट गरिने उनको भनाइ छ ।
तालिम संचालनका लागि आवश्यक तालिम सामाग्री, तालिम उपकरण र सम्बन्धीत विषयको प्रशिक्षक सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्रालयले नै उपलब्ध गराउने पालिकाले जनाएको छ । साथै, तालिममा तोकिएको आवेदकहरुको सङ्ख्या नपुगेमा तालिम संचालन गर्ने, नगर्ने अधिकार केन्द्रमा निहित हुने बताइएको छ ।




