
बन्द्रुङमा खानेपानी अभाव
अहिले गोरखामा ‘एकघर एकधारा’ कार्यक्रम सञ्चालन भएको छ । तर हिमाल पारिको चुमनुब्री गाउँपालिका ५ स्थित बन्द्रुङ गाउँका बासिन्दा अहिले पनि खानेपानीको अभाव खेपिरहेका छन् । ‘बर्खामा आकासको पानी खाने हो, बुढीगण्डकीपारि प्रोकतिरबाट सानो पाइपमा ल्याएको पानी गाउँभन्दा धेरै माथि खसालेको छ ।
छरिएर रहेको १०, १२ घरधुरीले त्यहीँ गएर पानी थापेर ल्याउनु पर्छ’, स्थानीय छिरिङ लामा भन्छन्, ‘बर्खाको बेलामा त आकासको पानी थापेर खाने हो ।’ बन्द्रुङमा खानेपानीको धेरै नै समस्या भएको उनको भनाइ छ । ‘पानी पनि तेलजस्तो छ हाम्रो लागि त’, उनी भन्छन्, ‘हाम्रो पनि घरघरमा धारा त बनेको छ, तर पानी जोडेको छैन । पानी जोडिदियो भने सजिलो हुन्थ्यो होला ।’
सो ठाउँमा पानीको अभाव भएको वडाअध्यक्ष काल्देन छेवाङको भनाइ छ । ‘त्यहाँ करिब पाँच, छ घर स्थायी बासिन्दा हुन्, अरु पाँच, छ घरचाहिँ अस्थायी अस्थायी घरधुरी हुन्’, उनी भन्छन्, ‘त्यहाँ पहिलेदेखि नै पानीको समस्या छ । धेरै टाढा प्रोकबाट पानी ल्याएको त छ, तर घरघरमा जोडेको छैन ।’
चुमनुब्री गाउँपालिकामा वृहद् चुमनुब्री खानेपानी आयोजना सञ्चालन भएको छ । प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आयोजना सञ्चालन गरेको हो । ‘त्यहाँ पनि कार्यक्रम सुरु भएको छ । आउँदो बर्षसम्म सम्पन्न हुनेछ’, डिभिजन प्रमुख तुल्सी बस्नेतले भने, ‘त्यसपछि त्यहाँको समस्या पनि समाधान हुनेछ ।’




