| मङ्लबार, कार्तिक २४, २०८३

बजारमा अखाद्य चुक अमिलो र घिउ छ्यापछ्याप्ति

प्रतीक्षा आले ।
गोरखा जिल्ला सदरमुकाम तथा बिभिन्न बजार क्षेत्रमा अखाद्य चुक अमिलो तथा घिउ छ्यापछ्याप्ति छ । अखाद्य पदार्थ मिसावट भएको भनेर अन्य जिल्लाहरुमा प्रतिबन्धित चुक अमिलो र घिउको नाउँमा अखाद्य सामाग्रीहरु बिक्री वितरण भइरहेको मसला तथा किराना व्यवसायी संघले जनाएको छ ।

सडक छेउका मसला तथा किराना पसलहरुमा अखाद्य घोषणा भइसकेका लक्ष्मी अमिलो उद्योग चितवनबाट उत्पादित चुक अमिलो बेच्न राखिएको छ । घरेलु चुक अमिलो प्रतिमाना रु आठ सयदेखि एक हजारसम्म किनबेच भइरहेको छ । मसला तथा किराना पसलमा राखिएका ती अमिलो भने प्रतिबोतल रु एक सयमा किनबेच हुने गरेको छ । अमिलोको स्वाद उही तर मूल्य धेरै सस्तो भएपछि उपभोक्ताहरुले बजारकै अमिलो किन्ने गरेका छन् ।

‘सय रुपैँयामा एक बोतल चुक पाइने भएपछि सर्वसाधारहरुले किन्ने नै भए’, मसला तथा किराना व्यवसायी संघ गोरखाका अध्यक्ष अरबिन्दकुमार गुप्ताले भने, ‘तर मलाई यो गुणस्तरहिन र अखाद्य छ भन्ने थाहा भएकाले बेच्दिन ।’ प्रशासन कार्यालयले केही समयअघि यसलाई नष्ट गरेको तर व्यापारीले फेरि बेच्न थालेको उनले बताएका छन् । संघले अन्य व्यवसायीहरुलाई यसबारे सचेत गराएपनि नियमन भने गर्न नसकेको उनको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँका खाद्य अनुसन्धान अधिकृत ज्योती आचार्यले बजारमा अखाद्य र मिसावटयुक्त बस्तुहरुको बिगबिगी बढेको बताए । बजारमा पाइने एसिड मिश्रित सस्तो चुक तथा बट्टाको घिउले उपभोक्ताहरुको स्वास्थ्यमा नराम्रो असर पु¥याएको उनको भनाई छ ।

‘बजारमा पाइने सस्तो चुकमा आइसक्रिम बनाउन प्रयोग हुने ‘स्टेबलाइजर’ प्रयोग हुन्छ । यसले तरल पदार्थलाई बाक्लो बनाउन मद्दत गर्छ’, उनले भने, ‘अमिलोमा पाइने साइट्रिक एसिडमा स्टेबलाइजर प्रयोग गरेर त्यस्ता अखाद्य अमिलो बनाइन्छ । जुन स्वास्थ्यका लागि हानिकारक छ ।’ कार्यालयले आवश्यक अनुगमन तथा कारबाही गरेता पनि उपभोक्ताहरु आफै सजग हुन जरुरी रहेको उनले बताएका छन् ।

खाद्य प्रविधि कार्यालय चितवनका कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलले भने आफुहरुले कुनै पनि उद्योगलाई सस्तो अमिलो बनाउने अनुमति नदिएको बताएका छन् । कार्यालयले केही समयअघि अखाद्य चुक अमिलो बनाउने लक्ष्मीलगायत तीन उद्योगलाई कारबाही गरेको उनले जानकारी दिए । उनले भने, ‘बजारमा राखिएका त्यस्ता चुक अमिलो अवैध रुपमा तयार पारिएको हो, त्यस्तो बस्तु फेला परे तुरुन्तै नष्ट गरिदिनु पर्छ ।’

बजार अनुगमन समितिका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मिसावटयुक्त अखाद्य पदार्थहरु बिक्री वितरण नगर्न व्यवसायीहरुलाई निर्देशन दिएको बताएका छन् । ‘यसबारे जानकारी हामीलाई पनि सूचना आएको छ’, उनले भने, ‘हामी उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शसँग सहकार्य गरेर आवश्यक अनुगमन र कारबाही गर्ने तयारी गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्