
दशै मेला बारे चेम्बर र संघ बीच प्रशासनमा जुवारी
असोज २० गतेदेखि सदरमुकाम मा हुन लागेको दशै सस्तो बजार एवं सडक मेलाका सम्बन्धमा जिल्लाका दुई ब्यवसायिक संगठन बिच विवाद भएको छ ।
आयोजक गोरखा चेम्बर अफ कमर्सले जिल्लाका उपभोक्ता र ब्यबसायी दुवै पक्षको हितमा मेला हुन लागेको दाबी गरिरहँदा उद्योग वाणिज्य संघ गोरखाले असन्तुष्टी जनाएको छ । असन्तुष्टि जनाउँदै गोरखा उद्योग वाणिज्य संघका पदाधिकारी केहि साता अघि जिल्ला प्रशासन कार्यालय गुनासो गरेका थिए ।
सोही सन्दर्भमा संघ र मेला आयोजक दुबै पक्षसँग प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले सोमबार गरेका छलफलमा दुबै संस्थाका पदाधिकारीहरु बिच चर्काचर्की परेको थियो । दशैको मुखमा हुन लागेको मेलाले जिल्ला का ब्यबसायीलाई निरुत्साहित गर्ने संघका अध्यक्ष जिवनज्योती श्रेष्ठको आरोप थियो । ‘जिल्लामा नै कर र महंगो भाडा तिरेर ब्यबसाय गर्दै आएका ब्यबसायी लाई दशैमेलाले असर पु¥याउँछ’ उनले भने ‘ पुषमा उद्योग वाणिज्य संघले दशौ गोरखा महोत्सव गर्ने भनेर बैशाखमा निर्णय भएको छ । उहाँहरु अहिले हतारिएर मेला गर्दै हुनुहुन्छ । ३÷३ महिनामा मेला हुँदा जिल्लाले थेग्न सक्छ ?’ सस्तो बजारको नाममा दशैको मुखमा बाहिरबाट ब्यबसायी ल्याएर जिल्लाको ब्यबसायीलाई मर्का नपार्न फेन्सी ब्यबसायी प्रदिप सिंखडाले आग्रह गरे ।‘ महिनै पिच्छे जस्तो मेला महोत्सव गर्ने’ उनले भने ‘बाहिरका ब्यापारी आएर ब्यापार गर्ने । हामी बर्षभरि कर र भाडा तिरेर ब्यबसाय गरेको के अर्थ ? चेम्बरले गर्ने मेलामा ५० स्टल स्थानीय ब्यबसायीलाई दिने भन्यो । फेन्सी ब्यबसायी १५० जना छौ, कसले स्टल राख्ने, कसले नराख्ने ?’ अहिलेसम्म जिल्लामा भएका मेला महोत्सवले व्यापारीहरुलाई कुनै लाभ नभएको व्यबसायीहरुले गुनासो गरे । मेला महोत्सवमा स्थानीय बजारमा नपाईने फेन्सी आइटम सहित अन्य सामान मात्र स्टलमा राख्न उनीहरुले सुझाव दिएका छन् । व्यबसायी मीना श्रेष्ठले दशैं मेलाको अबसरमा निश्चित प्रतिशत छुट भनेर व्यापार गर्न सकिने भन्दै बाहिरबाट व्यापारी नभित्र्याउन आग्रह गरिन् । ‘हामीलाई च्याम्बरको ब्यानर दिनुस् । हामी पसलमा झुण्ड्याएर मेलाको अबसरमा छुट भनेर सामान बेच्छौं’, उनले भनिन्, ‘तर बाहिरका ब्यापारी ल्याएर जिल्लाको पैसा बाहिर नपठाउनू । ’ मेला आयोजक चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले भने सस्तो बजार जिल्लाका ब्यबसायी र उपभोक्ता को हितका लागी भएको दाबी गरेका छन् । ‘मेलाले जिल्लाका दुखी गरीब उपभोक्ता र कपडा तथा होटल ब्यबसायीलाई बढि फाईदा हुन्छ’ उनले भने ‘यहि मौकामा ब्यबसायी ले सेलमा स्टक सामान फिक्स रेटमा बेच्न पाउँछन् । केहि प्रतिशत छुटमा सामान बेचेर ब्यापार बढाउन सकिन्छ । मेला हेर्न आउनेहरु यहिका होटल रेस्टु रेन्टमा बस्ने खाने गर्छन् ।’ मेलाले जिल्लाका कपडा ब्यबसायीको ३५ प्रतिशत ब्यापार बढने चेम्बर अफ कमर्सको अपेक्षा छ ।
मेलाकै अबसरमा बजार क्षेत्रका करीब १५ पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनसँगको समन्वयमा सुपथ मुल्यमा नुन, चिनी लगायतका खाद्यान्न सस्तो मुल्यमा बेच्ने ब्यबस्था गरिने भएकाले किराना ब्यबसायीलाई पनि फाईदा पुग्ने उनको विश्वास छ ।
प्यानबिल भएकालाई मात्र मेलामा स्टल राख्न दिने उनको भनाई छ । नयाँबजारदेखि हरमटारीसम्म सडक मेला रहने भएकाले बजारका ब्यबसायीहरु आत्तिनु नपर्ने भन्दै उनले सडक मेलाले व्यबसायीलाई ब्यापारको मौका रहेको उनले बताए । ठूलो चाडबाडको समयमा जिल्लाका निम्नस्तरका ग्राहकको हितलाई समेत ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा सहभागी ब्यबसायीहरु ले पोके ब्यापारीहरु गाउँ गाउँ सामान बेच्दै हिड्ने क्रम बढेको भन्दै यस्तो अबस्थाको नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । बैठकमा मेयर राजनराज पन्तले नगरका ब्यबसायीलाई सहमतिमा लिएर अघि बढ्न मेला आयोजक चेम्बर अफ कमर्सलाई सुझाव दिए । नगर क्षेत्रका ब्यबसायीलाई असर पर्ने देखिएमा मेला गर्न नदिने उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जिल्लाबासी लाई सस्तोमा गुणस्तरीय सामान दिनु ब्यापारीको दायित्व हुने बताए । उनले भने ‘एउटै उदेश्य रहेका दुई संस्था बीचको द्धन्द्धले ब्यापार ब्यबसायमा पनि धक्का पुग्न सक्छ । सहमतिमा मेला गर्नुहोस् । दुबै पक्ष बैठक बसेर ठोस निर्णयमा पुग्नुहोस ।’ असोज २० गतेदेखी ३० गतेसम्म हरमटारी खेलकुद मैदानमा गर्न लागेको दशै सस्तो बजार एवं सडक मेलाको तयारी करीब ६० प्रतिशत पुरा भएको आयोजक गोरखा चेम्बर अफ कमर्सले जनाएको छ ।
उद्योगी व्यापारीको हक, हितका लागि स्थापित दुवै संस्थाले मेला महोत्सव आयोजना गर्न लागेका हुन् ।
गोरखा उद्योग वाणिज्य संघले पनि पुसमा गोरखा महोत्सवको आयोजना गर्दैछ ।




