| मङ्लबार, कार्तिक २४, २०८३

मध्यपहाडीमा ठेकेदारको लुकामारी : केही दिन झुल्किने महिनौ हराउने

गत साउनदेखि मंसिर महिनासम्म मध्यपहाडी लोकमार्ग अन्तरगत गोरखा खण्डको काम ठप्प रह्यो । योजना अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन बने । फिल्डमा कामदार पनि देखिएनन् । विगत दश बर्षदेखि यस्ता दृश्य परिदृश्य देख्दै आएका स्थानीय धुलोले आजित छन् । निकै सास्ती भोग्नु परेको छ, सडककै कारण ।
ठेकेदारको यो किसिमको लापरवाहीकै कारण तीन बर्षमा सक्नुपर्ने काम दश बर्षमा पनि सम्पन्न हुन सकेको छैन । लोकमार्ग अन्तरगत गोरखाको दुई खण्डमध्ये ओख्ले–घ्याम्पेसाल–निवेल खण्ड (१६ किमी) को २०७२ साल माघ महिनामा ठेक्का सम्झौता भएको हो । तीन बर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि हालसम्म कामको प्रगति ८८ प्रतिशतभन्दा बढी छैन । एमपिएफटिएफ इसिसि जेभिसँग सम्झौता गरेको कार्यालयले पटक पटक म्याद थप भने गरिरहेको छ । अन्तिम पटक थप भएको म्याद पनि पुस महिनामा समाप्त भइसक्यो ।
दोस्रो खण्ड मसानेठाँटी–पालुङटार (१५.८ किमी) को भने २०७७ सालमा ठेक्का सम्झौता भएको हो । दुईवर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भएपनि हालसम्म ५० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन । हिमजुङ्ग प्यासेफिक जेभिसँग ५५ करोडमा ठेक्का सम्झौता भएको यस खण्डको पछिल्लो पटक थप भएको म्याद यही चैत मसान्तभित्र सकिदै छ । तर काममा चरम लापरवाही देखिन्छ ।
केही समय यता कामले गति लिएको मध्यपहाडी लोकमार्ग योजना कार्यालय पालुङटारले जनाएको छ । ‘अहिले दुवै खण्डमा काम सुचारु छ,’ कार्यालयका इन्जिनियर गोबिन्द श्रेष्ठले भने, ‘सब वेस, कल्र्भट, नाला र रिटर्निङ स्ट्रक्चरको काम भइरहेको छ ।’ उनका अनुसार ओख्ले कोयाभन्ज्याङ खण्डमा कालोपत्रेको काम भइरहेको छ । लुइटेल र बाह्रपिर्केमा सडक क्षेत्रमा रहेको संरचनाहरु भत्काउने काम भइरहेको उनले जानकारी दिए । जिरो किलोमिटर लगायतका केही ठाउँमा भने ढलानको काम भइरहेको बताइएको छ । ठेकेदारको लुकामारीले गर्दा उक्त योजना बर्षाैदेखि सम्पन्न हुन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्