
हिमाली भेगका किसानलाई खेती गर्ने वातावरण बनाऊ
हिमाली भेगका किसान अहिले जंगली जनावरले खेतीपाती खाइदिएर हैरान भएका छन् । विशेषगरी भालु, झारल, मृग, बाँदर जस्ता जनावरले खेती विनास गर्ने गरेको किसानहरु गुनासो गर्छन् । भर्खर उम्रिएदेखि मृग, झारल, भालुले बाली खान थाल्छ । फुल्न, फल्न थालेपछि बाँदरले खाएर सत्यानाश पार्दछ ।
यो कुनै एक गाउँ, एक वडाको समस्या नभै सिँगै चुमनुब्री गाउँपालिकाको हो । किसानहरु हैरान भएको बारे सबै वडाअध्यक्षहरुले गुनासो गरेपछि गाउँपालिकाले बजेट विनियोजन ग¥यो र बारीको वरिपरि तारबार ग¥यो । सुरुका बर्षमा जंगली जनावर तारबारभित्र प्रवेश गर्न नजानेर अल्मलिए । तर विस्तारै तारबारभित्र कसरी पस्ने भन्नेबारे सिके । त्यसपछि फेरि साविकझैँ समस्या हुन थाल्यो ।
अहिले जंगली जनावरले हैरान भएका किसानहरुले खेती गर्न छाडेको अबस्था छ । गाउँवरिपरि मान्छेको प्रत्यक्ष निगरानी हुने, मान्छेको निरन्तर उपस्थिति हुने ठाउँहरुमा त खेती गरिन्छ, तर गाउँबस्तीबाट टाढा, वनजंगलबाट नजिक पर्ने बारीहरुमा खेती गर्न छाडिसकिएको अबस्था छ ।
चुमनुब्री गाउँपालिका अहिंसा क्षेत्र हो । अर्थात यस गाउँपालिकाको वडा नं. ३ बाहेक अरु वडाहरुमा प्राणी हिँसा हत्या हुदैन । अर्थात यहाँका बासिन्दाले न घरपालुवा, न जंगली जनावरलाई काटमार गर्दैनन् । डँडेलो लगाउँदैनन् । ढुंगामुढा गरेर धपाउन समेत नहुने कडा नियम छ । त्यसैले यहाँका जंगली जनावर गाउँघरसम्म निर्वाध रुपमा चर्न आउँछन् ।
जंगली जनावर र मानव जगतबीच मित्रवत सम्बन्ध हुनु धेरै दृष्टिकोणले राम्रो कुरा त हो, तर खेतीबाली सखाप पारेर किसानलाई हैरान पार्नु दुखद कुरा हो । यसबाट मुक्ति पाउने कुनै वैज्ञानिक उपाय अहिलेसम्म देखिएको छैन । अब गाउँका सबै खेतीबाली लगाउने जग्गालाई हल्का करेण्टजडित धेरै अग्लो तारजाली लगाइयो भनेचाहिँ धेरथोर समाधान हुनसक्छ । लागत धेरै लाग्छ, तर किसानहरुले राहत पाउँछन् ।




