| सोमवार, कार्तिक २३, २०८३

पर्यटकलाई माछाखोलादेखि नै हिँड्ने वातावरण बनाऊ

मनास्लु क्षेत्र नेपालको विकसित हुँदै गएको पर्यटकीय क्षेत्र हो । यहाँ बर्षेनी पर्यटकको संख्या वृद्धि भइरहेको छ । दुई बर्षअघि नौ हजार पर्यटक पुगेका यस क्षेत्रमा अघिल्लो बर्ष १० हजार ६०० विदेशी पर्यटक पुगेका थिए ।

पर्यटक भित्रिने सिजनमा यस क्षेत्रका प्राय सबै होटलहरु पर्यटकले भरिभराउ हुने गर्दछन् । यसबाट सबै व्यवसायीहरु हर्षित हुने गर्छन् । होटल व्यवसायी मात्र नभई ट्रेकिङ तथा ट्राभल एजेन्सीहरु पनि खुशी हुन्छन् । सिंगो देशकै आर्थिक अबस्थामा पर्यटनको योगदान उल्लेखनीय छ । त्यसैले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ ।

तर अहिले ट्रेकिङ गर्ने धेरै रुटहरुमा मोटरबाटो बनिरहेको छ । पर्यटक पदयात्रा गर्ने ट्रेल मासिएर सडक बनेपछि कतिपय ठाउँहरुमा गाडी कुदेपछि पर्यटकहरु कुहिरोभित्र काग हराएझैँ धुलोभित्र हराउने गर्छन् । यो पर्यटकका लागि कत्तिपनि सुहाउँदिलो कुरा होइन ।

पर्यटन पदमार्गमा गाडी कुदेर वायू प्रदुषण, ध्वनि प्रदुषण हुँदा पर्यटक यस क्षेत्रतर्फ अनाकर्षित हुने गर्छन् । पर्यटन पदमार्ग भन्नु र सडक बिस्तार भन्नु एकापसमा नमिल्दा कुरा हुन् । सो भेगका बासिन्दालाई पर्यटक पनि चाहिन्छ, सडक पनि चाहिन्छ । त्यसैले पर्यटकलाई आकर्षण गर्न सडकभन्दा अन्यत्रै पर्यटन पदमार्ग निर्माण गर्नुपर्छ ।

ट्रेकिङ गर्न आएका पर्यटक हिँड्ने नै हुन् । उनीहरुलाई हिँड्ने वातावरण नै बनाइदिनु पर्छ । यसको अर्थ बस चढेर गएका पर्यटकलाई खोजीखोजी ओह्राल्नु पर्छ भन्न खोजेको होइन । एकाध पर्यटक सवारी साधनमा सिधै सामागाउँ वा छेकम्पार पुगेर ओर्लन खोज्लान्, त्यो पनि उनीहरुको स्वतन्त्रता हो ।

तर अधिकांश पर्यटक पैदल यात्रा गर्न आउने हुन् । उनीहरुलाई माछाखोलादेखि नै हिँड्ने वातावरण बनाउनु पर्छ । खोलावारि सडक छ भने खोलापारि पर्यटन पदमार्ग बनाउनु पर्छ । अनि दुवै क्षेत्रको विकास पनि हुन्छ । एकातिर सडक आएर विकास, अर्कातिर पर्यटक आएर विकास ।

प्रतिक्रिया दिनुहोस्