
प्लास्टिक कुर्ची बिस्थापन कार्यक्रम प्रसंसनीय
तीन दसक अघिसम्म सीमित बस्तुबाहेक नेपाल आत्मनिर्भर थियो । कैयौँ बस्तु विदेश निर्यात पनि हुन्थ्यो । तिब्बती बजार त काठमाडौँका सामानले भरिन्थे । नेपाली चामल कोरियासम्म पुग्थ्यो । यस्तो धेरै उदाहरण छन् । नेपालका गाउँबस्तीमा उपभोग्य सामग्री आफै उत्पादन गर्ने गर्थे, आफूले उत्पादन नगरेको भए सरसापट, ऐँचोपैँचो तथा साँटासाँट गरेर ब्यबहार चलाउने गर्थे ।
पहिले धान, चामल बजारबाट किन्नु लाज, सरमको बिषय हुन्थ्यो । ‘बेसाएर खाने खलक’ को संज्ञा पाइने डरले चरम अभाव भए पनि लुकिछिपी किन्ने गरिन्थ्यो । तर अहिले समय परिवर्तित छ । अहिले विदेशी उत्पादनले नेपाली बजार भरिएको छ । रेमिट्यान्सले गाउँबस्ती चलेको छ । भकारी रित्तो भए पनि ढुकुटीमा रुपैयाँ भए ठूलो(ठालु)को स्वाँङ पार्ने समय छ ।
दुख गर्नेहरु हेपाइमा हुन्थेनन् । श्रम गरेर आत्मनिर्भर हुनु श्रेयस्कर मानिन्थ्यो । दैनिक उपभोग्य बस्तु आफूलाई छेलोखेलो भएर पनि अरुलाई दिनुमा महानता ठानिन्थ्यो तर, अहिले सिन्को नभाँच्नु, सुकिलो मुकिलो हुनुलाई महानता मानिन्छ । अहिले जतिसुकै दुर्गम ठाउँमा पनि प्लास्टिकको कुर्ची पुगेको छ । घर छेउमा काठ कुहिएर गएको छ, बजारबाट रंगीचंगी प्लास्टिक कुर्ची ल्याउनुलाई ‘सान’ ठानिन्छ ।
यसलाई दृष्टिगत गरी धार्चे गाउँपालिकाले अहिले प्लास्टिक कुर्ची बिस्थापित गर्ने कार्यक्रम अघि ल्याएको छ । उसले गाउँपालिकाका सामान्य अपांग भएकाहरुलाई मुढा बुन्ने तालिम दिएको छ । गाउँमै मुढा बुन्ने काम गरेमा गाउँको निगालोको पनि उपयोग हुने, व्यक्ति स्वरोजगार पनि हुने, आय आर्जन पनि हुने, कुर्चीका लागि रकम नबाहिरिने पनि ठानेर पालिकाले मुढा बुनाइ तालिम दिएको हो । सामान्य अपांग भएकाहरुलाई सामान्य रोजगार यस कार्य सह्रानीय छ ।




