
सन्दुक रुइतको नेतृत्वमा उत्तरी गोरखामा आँखा शिविर
लोकप्रिय आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत जिल्लाको उत्तरी भेगमा निशुल्क आँखा शिविर गर्न आउने भएका छन् । हिमाल पारि अवस्थित चुमनुब्री गाउँपालिकाको वडा नं ५ बिही गाउँमा आँखा शिविर सञ्चालनका लागि डाक्टर रुइत आउने गाउँपालिकाले जनाएको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको देलेक बाल फाउन्डेशन र तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा आउँदो बैशाख २ र ३ गते निशुल्क आँखा शिविर हुने स्थानीय लामा पेमा साम्डुपले बताए । स्थानीय स्तरमा समन्वय गर्ने बिहीको साङ्छेन राप्तेन नुर्पुलिङ गुम्बाको अनुरोधमा उक्त शिविर हुन लागेको उनले जानकारी दिए ।
शिविर गाउँको स्वास्थ्य चौकीमा हुने साङछेन राप्तेन नुर्पुलिङ गुम्बाका लामा आर्गेनले बताए । शिविरमा निशुल्क रुपमा आँखा जाँच, आँखाको शल्यक्रिया र पढ्ने चस्मा वितरण गरिने उनले जनाए । वरिष्ठ आँखा रोग विशेषज्ञ सन्दुक रुइतको नेतृत्वको टोलीले शिविरमा सेवा दिने उनको भनाइ छ ।




