
पर्यटकहरु जगतभन्दा माथि सवारी साधन चढेर जान नपाउने
मेलिना बराम ।
सवारी साधन चढेर विदेशी पर्यटकहरुलाई जगतभन्दा माथि जान नदिने त्यहाँका होटल व्यवसायीहरुले निर्णय गरेका छन् । फागुन १९ गते सम्पन्न जगत–सल्लेरीका होटल व्यवसायीहरुकोे बैठकले मनासलु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकहरु जगतभन्दा तलदेखि पदयात्रा गर्नुपर्ने निर्णय गरेको हो ।
बैठकले सो निर्णय कडाइका साथ लागु गराउन सम्बन्धित निकायहरुलाई अनुरोध गर्ने निर्णय भएको होटल व्यवस्थापन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्कीले बताए । ‘दोभानदेखि माथिको बाटो नेपाली सेनाले सडक कार्यालयलाई हस्तान्तरण पनि गरेको छैन,’ उनले भने, ‘सबै बाटो कच्ची छ, धुलो उँडेर हैरान बनाउँछ ।’
बाटोमा सवारी चलाउँदा पैदल हिड्ने पर्यटकहरु प्रभावित बनेको उनी बतउँछन् । ‘यहाँमाथि आउने भनेको विदेशी पर्यटक हो । नेपाली त कहिले काहीँ छिटफुट त आउँछन् । उनीहरु यहाँ पैदल हिड्न भनेर नै आएका हुन्छन्,’ उनी थप्छन्, ‘धेरै त पैदल नै हिड्छन्, केही मात्रामा भने गाडीमा हिड्छन् । गाडीमा हिड्नेले उँडाएको धुलोले पैदल हिड्नेलाई असर गर्छ । त्यसैले पर्यटकहरु पैदलै हिँड्नुपर्छ भनेर हामीले निर्णय गरेका हौँ ।’
धुलो कै कारण पर्यटकको संख्या घट्ने डर भएको होटल व्यवसायी कार्कीले बताए । वातावरण स्वाच्छ राखिराख्न र पैदल हिड्ने पर्यटकहरुको सहजताको लागी जगतसम्म मात्रै सावारी आउन पाउने निर्णय गरेको उनले बताए । माथिल्लो भेगमा जाने मालबहाक तथा ढुवानी गर्ने सवारी भने चल्न पाउने उनले जानकारी दिए ।
साथै सो बैठकले विदेशी पर्यटक लिई आउने गाइडलाई कुपन (खानाको) छुट गरिदिने निर्णयसमेत गरेको छ । यसअघि गाईडलाई खानाको कुपन वापत २५० रुपैयाँ लिने गरेकामा सो कुपन सिस्टम खारेज गर्ने निर्णय गरेको कार्कीले बताए ।
जगत, सल्लेरीका होटल व्यवसायीहरुले अबदेखि विदेशी पर्यटकसंग बेडशुल्क लिने निर्णय गरेका छन् ।
यसअघि बेडचार्ज लिने नगरेका त्यहाँका व्यवसायहरुले आगामि दिनमा एटेच रुमको पाँचसय रुपैयाँ र ननएटेच रुमको तीनसय रुपैयाँ लिने निर्णय गरेको गणेश कार्कीले जानकारी दिए । ‘पहिला पहिला टुरिष्ट कम आउने बेला रुमचार्ज लिँदैनथ्यौँ’, उनले भने, ‘तर, शुल्क नलिँदा धेरै समस्या आयो । त्यसैले रुमको डेकोरेशन, कार्पेट विभिन्न कुराहरु सरसफाइ गर्नुपर्छ । धेरै खर्च हुने भयो, त्यहीँ भएर थोरै भने पनि भाडा लिने भनेका छौं ।’
यस्तै सबै व्यवसायीलाई अवसर दिनका लागि एउटा होटलमा २५ जना मात्रै पर्यटन राख्न पाउने व्यवस्था समेत गरेको छ । पर्यटकको टिममा २५ जना भन्दा धेरै संख्या भए अर्को होटलमा लगेर व्यवस्थापन गरिने उनले बताए । ‘हामीले आफ्नै आफ्नै बीच व्यवसायिक प्रतिष्पर्धा नहोस् भनेर एउटा होटलमा २५ जना भन्दा धेरै पर्यटक राख्न नपाउने भनेका छौं,’ उनले भने, ‘सो संख्या भन्दा धेरै भएमा अर्को होटलमा व्यवस्थित रुपमा राख्छौं । सिजनको बेलामा भने क्षमता भएसम्म पर्यटक राख्न पाउने भनेका छौं ।’
साथै जगत–सल्लेरी क्षेत्रलाई प्रदुषण हुन नदिन हप्तामा एक पटक सो क्षेत्र वरीपरि सबै मिलेर सरसफाई गर्ने निर्णय पनि बैठकले गरेको कार्कीले बताए । रुम भाडा लिने, सिमित क्षमतामा पर्यटक राख्ने, जगत– सल्लेरी क्षेत्र सरसफाई गर्ने निर्णयको पालना नगरे सो होटललाई नसिहत सहित एक लाख जरिवाना गर्ने निर्णय समेत गरेको उनले बताए ।
सुरुवाती चरणमा होटलहरुको कोठा भाडा उठाउन १ जना कर्मचारी समेत नियुक्त गरिने भएको छ । उक्त कर्मचारीलाई होटलको कोठा भाडाबाट उठेको जम्मा रकमको १० प्रतिशत पारिश्रमिक दिने निर्णय बैठकले गरेको होटल व्यवसायी कार्कीले बताए ।




