| मङ्लबार, कार्तिक २४, २०८३

प्लास्टिक कुर्ची बिस्थापित गर्न अपाङ्गता भएकाहरुलाई मुढा बुन्ने तालिम

प्रतीक्षा आले ।
उत्तरी गोरखाको धार्चे गाउँपालिकाले प्लास्टिकका कुर्ची बिस्थापित गर्ने उद्देश्यले अपाङ्गता भएकाहरुलाई मुढा बुन्ने तालिम दिएको छ । अपाङ्गता भएकाहरुलाई स्वरोजगार बनाउने उद्देश्य समेत राखेर १० दिने आवासीय तालिम दिएको गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता नपाउने सामान्य खालका अपाङ्गता भएकाहरुलाई तालिममा सहभागी गराइएको पालिकाले जनाएको छ । लाप्राक, हुल्चुक, खोर्ला, सिङ्ला, रुन्चेत, लापुवेशी लगायतका क्षेत्रहरुबाट १५ जना तालिममा सहभागी भएको सामाजिक सुरक्षा शाखा प्रमुख रेनुका चालिसेले बताइन् । ‘सहभागीहरुमा दुईजना महिला र १३ जना पुरुषहरु हुनुहुन्छ’, तालिमकी संयोजक चालिसेले भनिन्, ‘धादिङका झम्कप्रसाद तिवारीले तालिम दिनु भएको छ । तालिम दिने व्यक्ति पनि सामान्य अपाङ्गता भएकै व्यक्ति हुनुहुन्छ ।’

सहभागीहरुलाई पालिकाको केन्द्र माछिखोलामा आवासको व्यवस्था सहित तालिम प्रदान गरिएको उनले जानकारी दिइन् ।
प्रशिक्षार्थीहरुलाई पालिकाको अन्य वडाहरुमा गएर तालिम दिन सक्ने क्षमता बिकास गराउनु तालिमको मुख्य उद्देश्य रहेको संयोजक चालिसेले बताइन् ।

‘तालिम लिएपछि उहाँहरुले मुढा बुन्नु त सक्नुहुन्छ साथै वडा वडामा गएर मुढा बुन्ने सीप सिकाउन सक्ने बनाउनु पनि हाम्रो उद्देश्य हो’, उनले भनिन्, ‘यहाँ बाँसबाट अरु सामान पनि बनाइन्छ । बाँसको काममा स्थानीयहरु अभ्यस्त हुनुहुन्छ । त्यसैले मुढा बुन्ने तालिम दियौँ भने स्थानीय उत्पादनलाई जीविकोपार्जनसँग जोड्न सकिन्छ ।’ तालिम आउँदो बिहिबारसम्म संचालन हुने उनले बताइन् । १० दिने तालिम पाएपछि उनीहरुलाई प्रमाणपत्र दिइने उनको भनाइ छ ।

मध्यम र सामान्य अपाङ्गता भएका ‘ग’ र ‘घ’ वर्गमा पर्ने व्यक्तिहरुलाई आयआर्जनमा जोड्ने उद्देश्यले तालिम दिइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताएका छन् । साथै, पालिकाभर प्लास्टिकको कुर्सी बिस्थापित गरी बाँसको मुढा प्रयोगमा ल्याउने उद्देश्य रहेको उनले जनाए ।

‘प्लास्टिकजन्य सामाग्रीको प्रयोगलाई न्युनिकरण गर्ने भनेर पालिकाको नीति तथा कार्यक्रममा नै राखेका छौँ । स्थानीयबासीलाई तालिम दिएपछि उहाँहरुले उत्पादन गरेको मुढा प्रयोग गर्न सकिन्छ’, उनले भने, ‘मध्यम र सामान्य अपाङ्गता भएका व्यक्तिहरु आर्थिक रुपमा आत्मनिर्भर हुँदा परिवारबाट अपहेलित हुनु पर्दैन ।’ पालिकामा प्रशस्त निगालो पाइने हुँदा न्युन लागतमा मुढा उत्पादन गर्न सकिने उनले जानकारी दिए । स्थानीयहरुले मुढा उत्पादन गर्न थालेपछि त्यसको बजारिकरणमा पालिकाले सघाउने सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस्