| मङ्लबार, कार्तिक २४, २०८३

केरौँजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, सात सय बढीले सेवा लिए

विकट मानिने गोरखाको धार्चे गाउँपालिका–२ केरौँजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, ग्रीन सिटी हस्पिटल काठमाण्डौको प्रविधिक सहयोग तथा मुटु फाउन्डेसन काठमाण्डौँ र मनोज एसोसिसन फ्रान्सको आर्थिक सहयोगमा सम्पन्न शिविरमा सात सय ७४ जनाले सेवा लिएका छन् ।

दुईदिने शिविरमा सामान्य स्वास्थ्य परिक्षण, नाक, कान, घाँटी सम्बन्धी रोग, भिडियो एक्सरे सेवा, मुटु रोग, स्त्री रोग, पाठेघरको मुखको क्यान्सर लगायतका स्वास्थ्य समस्यको उपचार गरिएको धार्चे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अमृत बहादुर घलेले बताए ।

जसमा तीन सय चार जनाले नाक, कान घाँटीको जाँच गराएको उनले जानकारी दिए । यस्तै, एक सय ५६ जनाले भिडियो एक्सरे सेवा लिएको र ७२ जनाले मुटुको जाँच गराएको उनको भनाई छ । ‘एक सय ७७ जनाले स्त्री रोग र एक सय १७ जनाले पाठेघरको मुखको क्यान्सरको परिक्षण गराउनु भएको छ’, उनले भने, ‘जसमध्य १२ जनामा पाठेघरको मुखको क्यान्सर हुनसक्ने देखिएको छ । उहाँहरुको थप परिक्षणका लागी नमुना संकलन गरी पठाएका छौँ ।’ शिविरमा आङ खस्ने समस्या भएका १० जनाको उपचार गरि निशुल्क औषधी समेत वितरण गरिएको उनले बताएका छन् ।

शिविरमा पालिकाको काशीगाउँ, केरौँजा, रुन्चेत, लामाबेशी, हुल्चुक लगायतका क्षेत्रको बासिन्दाहरुले सेवा लिएका थिए ।
धार्चे गाउँपालिका वडा नं २ का वडाअध्यक्ष सरोज गुरुङको अध्यक्षता एवं पालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा ग्रीन सिटी हस्पिटलकी बरिष्ठ स्त्री रोग तथा क्यान्सर विशेषज्ञ अनिता थापा, नाक, कान तथा घाँटी रोग विशेषज्ञ चेतना पाठक, अल्ट्रासोनोलिजिष्ट विनोद शाह, जनरल फिजिसियनहरु प्रवेश गौतम, अनिता जिसी र अन्य फ्रान्सेली डाक्टरहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्