
पर्यटकको पर्खाइमा मनास्लु उपत्यका
प्रसिद्ध पर्यटकीय पदमार्गका रुपमा विकास भइरहेको मनास्लु उपत्यका यतिबेला पर्यटक आगमनको पर्खाइमा छ । वसन्त सिजन सुरु हुन लागेपछि स्थानीयबासीले पदमार्ग मर्मत सम्भार गरेका छन् भने व्यवसायीहरुले होटल साजसज्जा गर्न थालेका छन् ।
फागुन दोस्रो सातासम्म एकसय जनाभन्दा धेरै विदेशी पर्यटक मनास्लु क्षेत्रमा प्रवेश गरिसकेका होटल ब्यसायीहरु बताउँछन् । ‘अहिले पनि दिनहूँ २०, ३० जना पर्यटकहरु यो पदमार्गमा हिँड्छन्’, चुमनुब्री ५ ड्याङस्थित होटल व्यवसायी चन्द्र गुरुङ भन्छन्, ‘केही दिनयता सयजना भन्दा धेरै पर्यटक यहाँबाट उँभो गइसकेका छन् ।’ पर्यटकको आगमन वर्षेनी बढ्दै गएको उनले बताए ।
मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापका अनुसार गतबर्ष सन् २०२४ मा यस क्षेत्रमा १० हजार छसय विदेशी पर्यटकले भ्रमण गरेका थिए । त्यसअघि सन् २०२३ मा सो क्षेत्रमा नौ हजार १७७ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।
गतबर्षभन्दा यसबर्ष पर्यटक संख्या वृद्धि हुने अपेक्षा मनास्लु क्षेत्रका व्यवसायीको छ । ‘सिजनमा त खचाखच पर्यटक हुन्छन् । उनीहरुलाई सेवा सुविधा पु¥याउनै यस क्षेत्रका होटलहरुलाई हम्मे हम्मे हुन्छ’, होटल व्यवस्थापन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्कीले भने, ‘त्यसैले व्यवसायीहरुले पर्यटकलाई सेवा सुविधा दिन आँखा चिम्लेर पूर्वाधार थप गरिरहेका छन् ।’ मनास्लु संरक्षण क्षेत्रमा साना ठूला गरी सयभन्दा धेरै होटल लजहरु सञ्चालनमा रहेको उनले जानकारी दिए ।
मनास्लु क्षेत्र अन्तर्गत चुम उपत्यका र नुब्री उपत्यकामा पर्यटन पूर्वाधार निर्माण गर्न गाउँपालिकाले पनि विभिन्न कार्यक्रम तय गरेको छ । बिग्रेभत्केका बाटो मर्मतसम्भार गर्न बजेट विनियोजन गरिएको छ भने वैकल्पिक पदमार्गको खोजीका लागि पनि कार्यक्रम बनाइएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । ‘मनास्लु क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्न पालिकाले पर्यटन रोयल्टी लिने गरेको छ । त्यसबापत संकलन भएको रकमले बैकल्पिक पदमार्ग निर्माण गर्ने योजना बनाएका छौँ’, लामाले भने, ‘अहिले कुन कुन ठाउँमा पदमार्ग मर्मत सम्भार गर्नुपर्ने छ अध्ययन गर्न प्राविधिक टोली खटाएको छु ।’
मनास्लु पदमार्ग अन्तर्गत बिहीको बिजमदेखि प्रोकको गपसम्मको खण्ड केही जोखिम रहेको छ । बर्खाका बेला गएको पहिरोमा बेलाबेला ढुंगा खस्ने समस्या रहेको पर्यटकका गाइडहरु बताउँछन् । ‘जोखिम भएका ठाउँमा पालिकाले अथवा एमक्यापले सावधान गराउने खालका साइनबोर्ड राख्नुपर्छ’, गाइड अर्जुन न्यौपाने भन्छन्, ‘कुन कुन ठाउँमा जोखिम छ भन्ने अवलोकन गर्न बेलाबेला पालिकाको अथवा एमक्यापको टोलीले अध्ययन भ्रमण गर्नुपर्छ ।’ साथै विभिन्न ठाउँका होटलका मेनुहरुको पनि अध्ययन गर्नुपर्ने उनको जोड छ ।




