
फोटो स्टुडियो तथा भु–सेवा केन्द्र अनुगमनः कारोबार गर्दा अनिवार्य बिल काट्न निर्देशन
जिल्ला सदरमुकाममा संचालित फोटो स्टुडियो एवं भु–सेवा केन्द्रहरुलाई कारोबार गर्दा अनिवार्य रुपमा बिल काट्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार गरेको अनुगमनमा प्राय सबै फोटो स्टुडियो एवं भु–सेवा केन्द्रहरुले बिलको प्रयोग नगरेको पाइएको हो ।
साथै, अधिकांश पसलेहरुले कर पाटी एवं मुल्य सूची नराखेको, व्यवसायको उद्देश्य उल्लेख नगरेको, खरिद बिल नराखेको र दर्ता र नबिकरण बिनै व्यवसाय संचालन गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक चित्राङ्गत बरालले बताए । कार्यालयले चार वटा फोटो स्टुडियो र चार वटा भु–सेवा केन्द्रहरुमा अनुगमन गरको उनले जानकारी दिए ।
‘फोटो स्टुडियोहरुले सेवा सुविधाहरु थप गरी खाद्य सामाग्रीहरु राखेका छन् तर प्यानमा भने उल्लेख गरेका छैनन्’, उनले भने, ‘केही पसलमा म्याद गुज्रेका खाद्य सामाग्रीहरु पनि भेटिए, त्यसलाई पनि नष्ट गर्ने काम भयो ।’ व्यवसायीहरुलाई कानुनी प्रावधान अनुसार व्यवसाय गर्न निर्देशन दिइएको उनले बताएका छन् ।




