
घरपालुवा पशुचौपायालाई विभिन्न रोगबिरुद्धको खोप
जिल्लाका घरपालुवा पशुचौपायाहरुलाई बिभिन्न रोग बिरुद्धको खोप दिन थालिएको छ । पशुमा पूर्ण खोप कार्यक्रम अन्तरगत खोप अभियान संचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
‘दुई चरणमा अभियान संचालन गर्ने योजनासहित काम सुरु गरेका हौँ,’ कार्यालय प्रमुख डा. अनन्त कोइरालाले भने, ‘पहिलो चरण अन्तरगत चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा र अजिरकोट गाउँपालिकालाई समेटेका छौँ ।’ बाँकी पालिकालाई दोस्रो चरणमा राखिएको उनले बताए । उनका अनुसार चुमनुव्री, धार्चे, आरुघाट र भीमसेन थापा गाउँपालिकामा खोप लगाउने काम सम्पन्न भइसकेको छ । बाँकीमा जारी छ । ६७ जना खोपकर्ताहरु खटिएका छन् ।
कार्यक्रम अन्तरगत चुमनुव्रीमा १२ हजार ५२३ गाई÷गोरु, ६ हजार १२० याक÷चौरी, ७ हजार ४९७ बाख्रा, १५ हजार १११ भेडा, १ हजार ३६३ कुकुर÷बिरालो र ५५ वटा सुँगुर÷बंगुरमा खोप लगाइएको उनले बताए । अन्य पालिकाको भने विवरण आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यक्रम अन्तरगत याक÷चौरी एवं गाईभैसीमा खोरेत र लम्की स्किन, भेँडाबाख्रामा पिपिआर, बंगुरमा क्लासिकल स्वाइन फिवर र कुकुर एवं बिरालोमा रेविज विरुद्धको खोप लगाइने बताइएको छ । यो बर्ष जिल्लाभर ५५ हजार ४३८ गाई÷गोरु, ४५ हजार ५६ भैसी÷राँगा, ६ हजार १२० याक÷चौरी र २ लाख ७८ हजार ४१९ बाख्रालाई खोप लगाउने लक्ष्य कार्यालयको छ । त्यस्तै २७ हजार ५६८ भेडा, ११ हजार ३२६ कुकुर÷बिरालो र ७ हजार ४०१ सुंगुर÷बंगुरमा खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख कोइरालाले बताए । खोप कार्यक्रमका लागि चालु आव १ करोड ६० लाख रकम विनियोजन भएको छ ।




