| सोमवार, कार्तिक २३, २०८३

बगरका पतेरो बारे अध्ययन अपरिहार्य

यतिबेला बूढीगण्डकी किनारमा पतेरो संकलन गर्नेको भीड छ । अनायासै पतेरो संकलन गर्ने लहर चलेपछि गाउँलेहरु दिनहूँ लाइन लागेर बगरतिर झर्ने गरेका छन् । फिलिम तलको बगर, सल्लेरी, जगत मुनिको बगर लगायतका ठाउँमा स्थानीयबासी धुरिएर पतेरो खोजेका छन् । चिनियाँ व्यापारीले प्रतिकिलो दुईदेखि तीनहजारसम्म मूल्य दिने हल्ला चलेपछि स्थानीयहरु पतेरो संकलन गर्न लालयित भएका हुन् ।

करेसाबारीको तरकारी बालीमा हुने पतेरो बगरका ढुंगा, गेग्य्रानभित्र हुन्छ भन्ने यहाँका बासिन्दालाई पहिलो पटक अहिले थाहा भएको हो । पोखरा, बेशीसहरतिर रहेका आफन्तहरुले पतेरो संकलन गरेर बिक्री गर्न खबर गरेपछि यहाँका बासिन्दा पनि पतेरो खोज्न थालेका हुन् । बूढीगण्डकी बग्ने सिर्दिबास, माछाखोला, आरुघाट जताततै पतेरो संकलन गरिएको छ ।

पतेरो के हो ? यो के काममा प्रयोग हुन्छ ? यसको ठूलो परिमाणमा संकलन गर्न हुन्छ वा हुँदैन, यसको संख्या कति छ ?, यसको विनाश भएमा पर्यावरण(इकोसिस्टम)मा के प्रभाव, दुश्प्रभाव पर्छ ? यसको खास दरभाउ के हो ? यसको विक्री कहाँ हुन्छ ? आदि इत्यादि केही पनि थाहा पत्तो छैन । गोरखामा मात्र होइन, अन्य जिल्लाका नदी बगरमा पनि पतेरो संकलन भइरहेको छ ।
यसरी संकलन गर्दा पतेरो विनाश हुने निश्चित छ । पतेरो विनाशले इकोसिस्टममा के प्रभाव, दुश्प्रभाव पर्छ ? यो सीघ्रातिसीघ्र शोधखोज गर्नु जरुरी छ ।

पतेरो संकलन नगर्न वडा कार्यालय, मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप), प्रहरी चौकी सबैले आग्रह गरिरहेका छन् । तर, स्थानीयबासी यस्ता आग्रह सुन्ने, टेर्ने अवस्थामा छैनन् । तसर्थ विज्ञ, विशेषज्ञले यसको अध्ययन, अनुसन्धान गरी यसको संकलन रोक्नुपर्ने भए कडाइका साथ रोक्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्