
मनकामना दर्शन गरेर फर्कदै गरेको इभी माइक्रो दुर्घटना हुदाँ एकको मृत्यु, १४ घाइते
मनकामना दर्शन गरेर फर्कदै गरेको इभी माइक्रो दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । गोरखाको शहिद लखन गाउँपालिका–३ कन्टारमा सोमवार बिहान करिव साढेँ ११ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार १५ जना यात्रु बोकेर चितवनबाट अन टेष्ट नम्वरको उक्त इभी माइक्रो मनकामना दर्शनका लागि आएको थियो । दर्शन गरेर फर्कने दुर्घटना भएको उक्त माइक्रो सडकबाट करिव १५ मिटर तल खसेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । ‘घटनास्थलमा प्रहरी पुगेर घाइतेको उद्धार गरिसक्यो,’ उनले भने, ‘उनीहरुलाई उपचारका लागि तनहूँको आँवुखैरेनी स्थित छिम्केश्वरी अस्पताल लगिएको छ ।’ मृतक र घाइतेहरुको पहिचान भने खुल्न बाँकी रहेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।




