| सोमवार, कार्तिक २३, २०८३

अब बन्द नहोओस् हाटबजार

लामो समय बन्द भएपछि रामशाह घाटस्थित हाटबजार पुन सुचारु भएको छ । नमूनाका रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ सहिद लखन गाउँपालिको सञ्चालन गरेको सो हाट बजार निकै लोकप्रिय बनेको थियो । आँबुखैरेनीदेखि उपभोक्तहरु त्यहाँ तरकारी लगायतका सामान खरिद गर्न आउने गर्दथे ।

गाउँघरमा उत्पादन हुने अर्गानिक कृषि सामग्री उपलब्ध हुनु हाटबजारको विशेषता हो । त्यतिमात्र होइन, किसान आफै आफ्नो उत्पादन बेच्न बस्नु, बस्तुको उचित मूल्य किसानले पाउनु, बिचौलियाले बीचमा अधिक मूल्य राखेर बेच्न नपाउनु हाटबजारको अर्को विशेषता हो ।

विविध कृषि उत्पादन उपलब्ध हुनु, ताजा तरकारी तथा अन्य कृषि उत्पादन प्राप्त गर्नु हाटको विशेषता हो । नगद कारोबार हुनु, उचित मूल्य पाउनु, किसान उत्पादनका लागि हौसला पाउनु हाटका सबल पक्षहरु हुन् । नेपाल कृषिप्रधान देश हो । कृषकले आफ्नो पेशालाई व्यवसायिकीकरण गर्नुपर्दछ, तब त उनीहरु आफ्नो पेशाप्रति लालयित हुन्छन् । निर्वाहमुखी कामले उनीहरु आफ्नो पेशाप्रति आकर्षित हुदैनन् ।

हाट बजार नभएका खण्डमा बिचौलियाले किसानसंग कौडीका दाममा कृषि उत्पादन किनेर बजारमा उच्च मूल्यमा बेच्दछन् । यदि हाट बजार सञ्चालन भयो भने किसान स्वयंले आफ्नो उत्पादन लिएर हाटमा बेच्छन् । यसो गर्दा न किसान ठगिन्छन्, न उपभोक्ता । तसर्थ हाटबजार सञ्चालन हुनुपर्छ, त्यसमा पनि सहरबजारको नजिक क्षेत्रमा सञ्चालन हुँदा पर्याप्त उपभोक्ता पाइन्छ । ग्रामीण क्षेत्रमा सञ्चालन गर्दा उपभोक्ता नपाउन सकिन्छ ।

आँबुखैरेनी बजारमा पालिकाले हाट बजार सञ्चालन गरेपछि रामशाह घाटको हाटबजारमा असर परेको थियो र बन्द भएको थियो । अहिले रामशाह घाटको हाट पुन सञ्चालन भएको छ । अब यो निरन्तर चल्नु पर्दछ । गुणस्तरीय सामान बेच्ने हो भने उपभोक्ता, ग्राहकको खडेरी पर्दैन ।

प्रतिक्रिया दिनुहोस्