| आइतवार, कार्तिक २२, २०८३

ऐनापहरामा सात महिनामा ३० लाख राजस्व संकलन

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख रुपैयाँ आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो ।

पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले दुई करोड लगानी गरेको थियो । गाउँपालिकाले पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गर्ने प्रयास गरेको छ । झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण गरिएको छ ।

सो ठाउँमा निर्माण गरिएका आकर्षक मूर्ति र आकृतिले पर्यटकको ध्यान आकर्षित गर्ने गरेको छ । यहाँ दैनिक तीन सयदेखि चारसयसम्म आन्तरिक पर्यटक आउने गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । ‘महिनामा तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरेको छ’ उनले भने ।

बिदाका दिनमा र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप बढी हुने गरेको छ । उद्यान प्रवेशमा स्थानीयलाई ५०, विद्यार्थीलाई ३० र अन्य पालिका तथा बाह्य पर्यटकका लागि एकसय रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ । गाउँपालिकाले फोहर व्यवस्थापनका लागि तथा अन्य व्यवस्थापनका लागि चार जना कर्मचारी खटाएको छ । वर्षायाममा झरना हेर्न र हिउँदमा कलात्मक मूर्ति र आकृति हेर्न पर्यटक यहाँ आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्