
हल्लाका भरमा पतेरो संकलन नगर्न आग्रह
बूढीगण्डकी बगरको पतेरो संकलन नगर्न आग्रह गरिएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ३ को कार्यालय, मनास्लु संरक्षण क्षेत्र आयोजना र स्थानीय प्रहरी चौकीले पतेरो संकलन नगर्न स्थानीयलाई आग्रह गरेको हो ।
‘अनायास गाउँलेहरुले बगरमा पतेरो टिप्न थालेपछि हामी पनि अचम्ममा प¥यौँ । किन टिपेका हुन्, कहाँ बेच्ने हो, यसबाट के फाइदा हुने हो, कतिमा किनबेच हुने हो, जनतालाई धोका मात्र हुने हो कि, ठगिने हुन् कि केही थाहापत्तो नभएकाले यो काम नगर्नु भनेर हामीले आग्रह गरेका छौँ’, वडाअध्यक्ष रामकुमार गुरुङले भने, ‘कसैले हाम्रो आग्रह कार्यान्वयन गरेका छन्, कसैले गरेका छैनन् ।’
लम्जुङ, कास्कीमा बसोबास गर्ने आफन्तहरुले संकलन गर्न आग्रह गरेपछि यहाँका स्थानीयबासी धमाधम पतेरो टिप्न बगरमा धुरिएका उनले बताए । छेउटुप्पो नभएको हल्लाको पछि नलाग्न उनले आग्रह गरेका छन् । पतेरो संकलन काम बिल्कुल नयाँ अभ्यास भएकाले बास्तविकता जानकारी नहुञ्जेल काम रोक्न आग्रह गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ ।
‘पतेरो यो क्षेत्रमा कति संख्यामा छ, पर्यावरणमा यसको के प्रभाव छ, यो निर्मूल भयो भने वातावरणमा के कस्तो दुश्प्रभाव पर्छ भन्ने केही अध्ययन भएको छैन’, एमक्यापका प्रमुख सन्तोष शेरचनले भने, ‘त्यसैले विस्तृत अध्ययन नहुञ्जेल हाल यसको संकलन नगर्न एमक्याप, वडा कार्यालय र प्रहरीले आग्रह गरिसकेका छौँ ।’ ब्यापारिक प्रयोजनबाहेक घरायसी प्रयोजनका लागि भने जो कसैले संकलन गर्न सक्ने उनले बताए ।
यतिबेला बूढीगण्डकी बगरमा पतेरो संकलन गर्नेको भीड छ । चुमनुब्री ३ को घट्टेखोला, सिर्दिबास, सल्लेरी, जगतबगर तथा धार्चे ५ माछाखोला, आरुघाट लगायतका बगरमा स्थानीयले पतेरो संकलन गरेका हुन् । उनीहरुले बगरका साना, ठूला ढुंगा पल्टाउँदै त्यसभित्र लुकेर रहेको पतेरो संकलन गरेका छन् । गेग्य्रान खोतलेर पनि पतेरो समातेका छन् ।
चिनियाँ व्यापारीले प्रतिकिलो दुईहजार, तीन हजार रुपैयाँमा किनेका छन् भन्ने हल्ला आफूले पनि सुनेको उनले बताए ।
माछाखोला बगरमा पनि पतेरो खोज्ने गाउँले धुरिएका छन् । बूढीगण्डकी आसपासका गाउँबस्तीका बासिन्दा पतेरो खोज्ने गरेका स्थानीय धनकुमार गुरुङले जानकारी दिए ।
‘कहाँबाट के हल्ला आयो, बगरभरि मान्छे थिए’, उनले भने, ‘तर चिनियाँ व्यापारी पक्राउ प¥यो रे, किनबेच बन्द भयो रे, भन्ने पछिल्लो हल्ला आएको छ । हल्लाका भरमा दिनभर बगरमा ढुंगा पल्टाएका छन्, दुख मात्रै हुने हो कि, ठगिने हुन् कि केही थाहा छैन ।’ तरकारीबारीमा पाइने कालो रंगको पतेरो बगरमा बस्छ भन्ने पनि थाहा नभएको, उपयोगी हुन्छ, बिक्री हुन्छ भन्ने पनि थाहा नभएको उनले बताए ।




