
लयमा फर्कदै रामशाहघाटको हाटबजार
केही समयदेखि बन्द रहेको शहिद लखन गाउँपालिका–३ नयाँपुल स्थित रामशाहघाटको हाट बजारपुन सञ्चालनमा आउन थालेको छ । कोभिडयता प्राय बन्द भएको हाटबजार माघ महिनायता नियमित संचालन हुन थालेको हो ।
प्रत्येक साताको शनिवार हाट बजार संचालन हुन थालेको संचालक नयाँ पुल कृषि उपज उपभोक्ता सहकारी संस्थाले जनाएको छ । ‘कोभिडपछि हाट बजार नियमित संचालन गर्न नसकेर बन्द जस्तै भयो,’ संस्थाका अध्यक्ष चित्रबहादुर बयलकोटीले भने, ‘माघ महिनापछि अहिले प्रत्येक शनिवार नियमित हाट बजार लाग्ने गरेको छ ।’ मुख्य गरी वडा नम्वर १–३ का किसानहरुले उत्पादन गरेको तरकारी हाट बजारमा बिक्रीका लागि ल्याइन्छ ।
पालिकाको आर्थिक र प्राविधिक सहयोगमा मनकामना कृषि सहकारीमार्फत २०७५ असोज २७ गतेबाट हाट बजार सुरु भएको हो । त्यस पश्चात पालिका स्तरीय बनाउने भन्दै नयाँ पुल कृषि उपज उपभोक्ता सहकारी संस्था खोलेर त्यसमार्फत हाट बजार संचालन गरियो । पालिकामा उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले प्रत्येक शनिवार हाट बजार संचालनमा आउन थालेको हो ।
हाट बजारको निरन्तरताका लागि पालिकाले किसानहरुलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराउँदै आएको छ । उत्पादित तरकारीमा प्रतिकेजी तीन रुपैया अनुदान रकम उपलब्ध गराउँदै आएको पालिका कृषि शाखा प्रमुख नविन अधिकारीले बताए । ‘किसानले उत्पादन गरेको तरकारी हाट बजारमा बेचेपछि प्रतिकेजी तीन रुपैयाका दरले अनुदान उपलब्ध गराउँछौ,’ उनले भने, ‘हाट बजार संचालन गर्ने कृषि सहकारी संस्थाले त्यसको रेकर्ड राख्नुहुन्छ र उहाँहरु मार्फत हामी किसानलाई अनुदान दिन्छौँ ।’
उनीहरुलाई बार्षिक एकमुष्ट रुपमा अनुदान रकम उपलब्ध गराइने बताइएको छ । सहकारी संस्थाका अध्यक्ष बयलकोटीका अनुसार गतबर्ष गोलभेडा, काउली, अकबरे खुर्सानी र च्याउमा अनुदान रकम दिइएको थियो । यो बर्ष अनुदान कार्यक्रमले निरन्तरता पाएपनि कुन तरकारीमा अनुदान दिने पालिकाले एकिन गरिसकेको छैन । केही दिनमा सूचना प्रकाशन गर्ने तयारी भइरहेको पालिका कृषि शाखा प्रमुख अधिकारीले बताए ।
साउन महिनादेखि सहकारी संस्थाले रेकर्ड राख्दै आएको छ । पालिकाको सूचना आएपछि सोही रेकर्डको आधारमा अनुदान रकम वितरण गरिने संस्थाले जनाएको छ । उत्पादन क्षेत्रबाट हाट बजारसम्म तरकारी ल्याउनका लागि किसानलाई पालिकाले ढुवानी खर्च पनि उपलब्ध गराउँदै आएको छ । हाट बजार संचालन हुने क्षेत्रमा ट्रस्ट, दश टन क्षमताको कोल्ड रुम, बिक्री कक्ष, संकलन कक्ष र शौचालय पनि निर्माण भएका छन् ।
तनहूँको आँवुखैरनीमा हाट बजार संचालन हुन थालेपछि यताको हाटबजारको व्यापारमा केही कमी आएको संस्थाका अध्यक्ष बयलकोटी बताउँछन् । ‘हाम्रो लक्षित मुख्य उपभोक्ता भनेको तनहूँको आँबुखैरेनी बजारका बासिन्दा हुन् तर आँवुखैरेनीमै हाट बजार सुरु भएपछि यताको व्यापारमा केही प्रभाव भने परेको छ,’ उनी भन्छन् ।
उनका अनुसार आँबुखैरेनीमा शुक्रवार हाट बजार संचालन हुने गरेको छ । अव हप्ताको दुईदिन हाट बजार संचालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘हाम्रो संस्थाबाट बुधवार र शनिवार दुई दिन हाट बजार संचालन गर्ने भन्ने निर्णय भइसकेको छ, अब पालिकासँग समन्वय गरेर अघि बढ्छाँै,’ उनले भने ।




