| सोमवार, कार्तिक २३, २०८३

डढेलो नियन्त्रणमा एक्यवद्धता जनाऔं

हरेक वर्षको सुक्खायाममा डढेलो लाग्नु जिल्लाका लागि कुनै नौलो रहेन । पछिल्लो समय यसको विस्तार अझ भीषण बन्दै गएको छ । डढेलोले वन क्षेत्र र वन्यजन्तुको विनाश मात्र होइन त्यसबाट फैलिने धुवाले वायुमण्डल दूषित समेत बनाउँछ । मानविय क्रियाकलाप र गतिविधी नै डढेलोको प्रमुख कारक हो ।

डढेलोको मुख्य जोखिम हुने समय फागुनदेखि जेठसम्म हो । अहिले जिल्लाका केही वन क्षेत्रमा डढेलो लाग्न सुरु भइसकेको छ । डढेलोका कारण वन्यजन्तु मर्नु त सामान्य कुरा भइसक्यो । नियन्त्रणकै क्रममा घाइते हुने र ज्यान समेत गएको उदाहरण पनि छन् ।

जिल्लाकै हकमा भन्ने हो भने डढेलो नियन्त्रणका प्रयास तत्काल र प्रभावकारी हुन सकेको छैन । बेल्चा र स्याउलाको भरमा आगो निभाउनुपर्ने बाध्यता अझै हटेको छैन । प्रविधि र तालिमप्राप्त दक्ष जनशक्तिको अभाव उस्तै । त्यसमाथि सरोकारवाला निकायको एक्यवद्धता समेत देखिदैन ।

डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय परिचालन हुनुपर्छ । स्थानीय, प्रदेश र संघ सरकार सबैको समन्वय हुनु जरुरी छ । तर डढेलो लाग्नै नदिने र लागिहाले नियन्त्रण गर्नेबारे केन्द्रदेखि स्थानीय तहसम्मै समन्वय र चेतनाको अभाव छ ।

डढेलो जस्ता विपद व्यवस्थापनका मुद्दा स्थानीय सरकारको प्राथमिकतामा अझै पर्न सकेको छैन । डढेलो नियन्त्रणका लागि बजेट विनियोजन गर्न स्थानीय सरकारले खासै चासो दिएको त छैन नै प्रदेश र संघले पनि कन्ज्यूँस्याइ गरिरहेकै छ ।
डढेलो रोकथाम र नियन्त्रणमा केही सामुदायिक वन उपभोक्ता समूहले पहल गरिरहेपनि आवश्यक उपकरण र दक्ष जनशक्तिको अभाव खड्किएको छ ।

बिभिन्न समूह उप–समूह गठन गरेर डढेलो नियन्त्रणमा लगाउन सकिन्छ । डढेलो व्यवस्थापनका लागि बजेट विनियोजन गर्न राज्यले कन्ज्यूँस्याई नगरोस् ।

प्रतिक्रिया दिनुहोस्