
नवौँ गोर्खाली रनिङ कपको उपाधि आयोजकलाई नै
गोरखाको हरमटारी खेलमैदानमा जारी गोरखाकै सर्वाधिक पुरस्कार राशीको ‘दि अन्नपूर्ण स्कुल, नवौँ गोर्खाली रनिङ कप’ को उपाधि यो वर्ष पनि आयोजक हरमटारी क्लबले जितेको छ । बुधबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई १–० को गोल अन्तरले हराउँदै हरमटारी क्लब उपाधी बिजेता बनेको हो ।
उपाधी बिजेता हरमटारीले रनिङ कपको साथमा चार लाख रुपैँया नगद पुरस्कार पाएको छ । उपाधी उपबिजेता बनेको चाइनिजधारा क्लबले भने दुई लाख नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष जीवन गुरुङले बताए ।
प्रतियोगिताका सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिएको छ । लक्ष्मीबजार हर्ट क्लवका रिचार्ड विल्सनलाई १५ हजार नगद पुरस्कार दिइएको आयोजकले जनाएको छ । प्रतियोगिता अवधीभर उनले ६ गोल गरेका थिए । हरमटारी क्लबका अनिष महत्व उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । उनले १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा हरमटारी क्लबका सन्त बहादुर गुरुङ (कान्छा) सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद २५ हजार पुरस्कारको साथमा ट्रफी पाएका छन् । लक्ष्मीबजार हर्ट क्लव अनुशासित टिम घोषित भएको छ । उक्त टिमले नगद ३५ हजार पुरस्कार पाएको छ । उदयमान खेलाडीको उपाधि हरमटारी क्लबका प्रशुन तामाङले प्राप्त गरेका छन् ।
उनले नगद १० हजार पाएका छन् । प्रतियोगिताका बिजेताहरुलाई बुधबार एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको हो । यही फागुन ७ गतेबाट हरमटारी खेलमैदानमा शुरु भएको प्रतियोगितामा कुल १४ टिमको सहभागीता रहेको थियो ।




