| सोमवार, कार्तिक २३, २०८३

व्यवस्थित बसपार्क आवश्यक

गोरखा बजारका समस्याहरुमध्येको एक हो सवारी पार्किङ । भौगोलिक हिसावले पनि केही अव्यवस्थित रहेको यहाँ अस्तव्यस्त सवारी पार्किङले झन् भद्रगोल बनाइदिएको छ । बसपार्क भनिएको ठाउँ दुई चार वटा सवारीले भरिन्छ । लाखौ लगानी खर्चेर बनाइएका बसपार्कमा अपायक भन्दै सवारी पार्किङ हुदैनन् । यो नगरकै टाउको दुखाइको बिषय बनेको छ ।

यिनै समस्यालाई मध्यनजर गर्दै गोरखा नगरपालिकाले केही ठाउँमा बसपार्क निर्माणको काम थालनी गरेको छ । खोलखोलेमा बसपार्क निर्माणाधिन छ भने ग्रामिण यातायातलाई लक्षित गर्दै गोरखा नगरपालिका वडा नम्वर ६ र ८ को सिमाना धनुवासेमा बसपार्क बनाउने तयारी भइरहेको छ । यो बर्ष बजेट समेत विनियोजन भइसकेको छ । यो काम स्वागतयोग्य नै देखिन्छ ।

गोरखा भ्रमण बर्ष मनाइरहँदा अव्यवस्थित र अस्तव्यस्त पार्किङको झलकले पर्यटकको मतिष्कमा नकरात्मक छाप पर्न दिनु हुदैन । यसले जिल्लावाहिर पनि पक्कै राम्रो सन्देश जादैन । त्यसैले बसपार्क निर्माणको कामलाई तिव्रता दिनु आवश्यक छ ।
हरमटारीको घ्याम्पेशाल बसपार्क अहिले सबैभन्दा अव्यवस्थित र बढी सवारी जाम हुने क्षेत्रको रुपमा चिनिन्छ ।

पर्याप्त ठाउँ नहुदा पनि त्यसलाई बसपार्कको रुपमा प्रयोग गरिदै आएको छ । सवारी जामले त्यहाँको क्षेत्र प्राय तनावग्रस्त जस्तै हुन्छ । सहज आउजाउ गर्न पैदलयात्रुलाई समेत मुश्लिक पर्छ । अस्पताल जस्तो सम्वेदनशिल क्षेत्र जाने उक्त सडकमा सहज रुपमा सवारी आउजाउका लागि त्यस क्षेत्रमा रहेको बसपार्क अन्यत्र सार्नु नै उपयुक्त हुन्छ ।

ढिलै भएपनि गोरखा नगरपालिकाले त्यहाँको बसपार्कलाई धनुवासेमा स्थानान्तरण गर्ने तयारी गरेको छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ । बसपार्क निर्माणको काम यथाशिघ्र सुरु होस् ।

प्रतिक्रिया दिनुहोस्