
हिमचुली सहकारीको ३२ औँ स्थापना दिवसमा विभिन्न कार्यक्रम
हिमचुली बचत तथा ऋण सहकारी लिमिटेड संस्थाको ३२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । संस्थाले स्थापना दिवसको पूर्व सन्ध्यामा मंगलबार मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्मको विद्यार्थीहरुलाई सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको अध्यक्ष रामबाबु श्रेष्ठले बताए ।
कार्यक्रममा सहकारीको परिभाषा, महत्व, परिवार, समाज र देशको आर्थिक समृद्धिका लागि सहकारीको भूमिका, सहकारी सञ्चालन विधि र प्रक्रिया, वित्त व्यवस्थापन आदिका बारेमा सुसूचित गराइएको थियो । साथै बचतको महत्व र फाइदा, बचत गर्ने बानीको विकास, आम्दानी तथा खर्च गर्ने विधिका विषयमा प्रशिक्षण गराएको उनले जानकारी दिए ।
कार्यक्रमलाई संस्थाका अध्यक्ष श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुशील अर्याल, सचिव सहदेवप्रसाद श्रेष्ठ, सह सचिव प्रेमध्वज थापा र व्यवस्थापक प्रेम कुमार श्रेष्ठले सहजीकरण गरेका थिए । यस्तै यसअघि तारा मावि छेपेटार र महेन्द्र मावि कुन्दुरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरी सकेको अध्यक्ष श्रेष्ठले बताए । दिवसकै अवसरमा मनकामना बहिरा आवसीय माविको कक्षा ३ सम्मका ३३ जना बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको उनले बताए ।
स्थापना दिवसको दिन नगरपालिकास्तरीय ‘सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीको योगदान’ भन्ने विषयमा वक्तृत्वकला आयोजना गरिएको संस्थाले जनाएको छ । बहिरा माविका प्रधानाध्यापक बाबुराम बि.कको अध्यक्षता तथा संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।




