| सोमवार, कार्तिक २३, २०८३

सार्वजनिक इभीको भाडा समायोजन आवश्यक

अहिलेको आवश्यकता वातावरणमैत्री इभी गाडी हो । त्यसैले निजी तथा सार्वजनिक सवारी साधनका रुपमा इभी खरिद गर्दा सरकारले कर सहुलियत दिएको छ ।

समयको मागसंगै गोरखामा पनि धमाधम इभी खरिद गर्ने क्रम बढिरहेको छ । निजी गाडी किन्नेले पनि इभी र सार्वजनिक सवारीका रुपमा पनि इभी खरिद गर्ने बढिरेका छन् । गोरखामा अहिले १५ वटा इभी माइक्रोबस सेवा सञ्चालनमा छ । दरौंदी गोरखा यातायात सेवा प्रालिले १३ वटा र पृथ्वीराजमार्ग यातायात सेवा प्रालिले दुईवटा इभी माइक्रो सञ्चालन गरेका हुन् ।

डिजेल, पेट्रोलबाट चल्ने सवारी साधनले भन्दा इभीको कैयौंगुना लागत कम हुन्छ । डिजेलबाट चल्ने माइक्रोबसको गोरखादेखि काठमाडौँसम्म जाँदा वा आउँदा एक पटकको लागत करिब सात हजार रुपैयाँ हुन्छ । तर सोही दुरीमा इभी माइक्रोको लागत बढिमा जम्मा दुई हजार मात्र हुन्छ ।

तर नमिल्दो कुरो के छ भने सात हजार रुपैयाँ लागत लाग्नेले जति भाडा असुल गर्छ, त्यति नै भाडा दुईहजार लागत लाग्नेले पनि लिन्छ । धेरै खर्च उठ्नेले धेरै भाडा लिनु स्वभाविक छ, तर कम खर्च उठ्नेले त थोरै भाडा लिनु पर्ने हो । किन त्यसो हुन सकेको छैन ?

जटिल परिस्थिति यो छ कि, जुन सार्वजनिक सवारी साधनले कम भाडा लिन्छ, सबै यात्रु उही सवारी प्रयोग गर्छन् । त्यसैले डिजेल माइक्रोले इभी माइक्रोलाई पनि भाडादर एउटै कायम गर्न बाध्य बनाएको अनुमान गर्न सकिन्छ । कम लागतमा धेरै लागत लाग्नेले जत्तिकै भाडा असुल गर्दा अहिले इभीको कमाइ राम्रो छ । त्यसैले यो समय इभी सार्वजनिक सवारीको सुनौलो समय हो ।

सँधै यस्तो निमल्दो अबस्था लम्ब्याइरहनु उचित हुदैन । बिगतमा जे भयो, अब यस्तो नसुहाउँदो अबस्था धेरै लम्ब्याउनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्