
सहिदलखन ७ को उत्कृष्ठ प्रस्तुति
जेठ, असार लागेपछि हतपतमा लतपत गरेर विकास निर्माणको काम सक्ने प्रचलनबाट आजित भएका गोरखाबासीका लागि सहिदलखन गाउँ पालिकाको एक वडाको सुखद समाचार छ । सो पालिकाको वडा नं. ७ ले सबै ठाउँमा बर्खा लागेपछि हिलोमा गोलमाल गरेर काम सक्ने अनि मिलाएर फस्र्यौट गर्ने प्रचलन छैन भन्ने नमूना प्रस्तुत गरेको छ ।
सहिदलखन गाउँपालिका वडा नं. ७ ले चालु आर्थिक बर्षका सबै पूर्वाधार निर्माणका काम माघ महिनाभित्रै सम्पन्न गरेको छ । अनि केही दिनअघि मात्रै सतप्रतिशत प्रगति गरेको प्रतिवेदन तयार गरी पालिका कार्यालयमा पेश गरेको छ । गाउँपालिकाबाट प्राप्त ५० लाख रुपैयाँ लागतका १२ वटा पूर्वाधार निर्माणका काम माघ मसान्तभित्र सम्पन्न गरेको हो ।
बजेट अधिवेशन भनेर चिनिने बर्खे अधिवेशनले सो वडाका लागि बजेट तथा कार्यक्रम घोषणा गरेपछि साउन १ गतेबाट नै उपभोक्ता समिति गठन गर्न सुरु भएको थियो । साउनभित्रै उपभोक्ता समिति गठन भइसकेको र उनीहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्न सुरु भएको थियो । वडा कार्यालयले त्यसपछि क्रमशः योजनाका कामहरु सञ्चालन गर्न थालेको थियो ।
योजना सम्पन्न भएपछि अनुगमन गरी उपभोक्ता समितिलाई भुक्तानी दिन सुरु भएको थियो । माघ महिना सकिँदासम्म भौतिक पूर्वाधार निर्माणका सबै योजना सम्पन्न भएर भुक्तानी प्रक्रिया पनि पूरा भएको थियो । कैयौं पालिका तथा वडाले ५०, ६०, ७०, ८० प्रतिशत मात्र कार्य प्रगति गरिरहेका बेला सो वडाले भने लगातार दोस्रो बर्ष पनि सतप्रतिशत कार्यप्रगति गर्न सफल भएको हो ।
गतबर्ष पनि यथासमयमै पूर्वाधार निर्माणको काम सतप्रतिशत प्रगति गरी पुरस्कार जित्न सफल भएको थियो । स्थानीयबासी, उपभोक्ता समिति, जनप्रतिनिधिहरु र कर्मचारीवर्गसंग अत्यन्त सुमधुर सम्बन्ध कायम गरी काम गरे यसरी नै प्रगति गर्न सकिने सन्देश सो वडा कार्यालयबाट लिन सकिन्छ ।




