
दोस्रो चौमासिक नसकिँदै सहिदलखन ७ का सबै योजनाहरु सम्पन्न
प्रतिक्षा आले ।
चालु आर्थिक बर्षको दोस्रो चौमासिक नसकिँदै सहिदलखन गाउँपालिका वडा नं ७ ले भौतिक पूर्वाधार निर्माणका सबै योजनाहरु सम्पन्न गरेको छ । उपभोक्ता समितिमार्फत हुने सबै योजनाहरु माघ मसान्तभित्रै सम्पन्न गरी सोको जानकारी पालिका कार्यालयमा गराइसकेको वडाअध्यक्ष शरण श्रेष्ठले बताए ।
सो वडाले चालु आर्थिक वर्ष २०८१÷८२ मा सञ्चालन गर्न ५० लाख रुपैँयाका १२ वटा पूर्वाधार निर्माणका योजनाहरु निर्धारण गरेको थियो । ती सबै योजना तथा कार्यक्रमहरु सम्पन्न भई भुक्तानी समेत भइसकेको र कुनै पनि योजना रकमान्तर नभएको उनले जानकारी दिए । ‘बाँडफाँट भएका सबै योजनाहरु सम्पन्न भएर पनि भुक्तानी पनि गरिसकेका छौँ’, उनले भने, ‘अघिल्लो बर्ष पनि समयमै सबै योजना सम्पन्न गरेर सतप्रतिशत प्रगति गर्न सफल भएका थियौँ । अहिले पनि दोस्रो चौमासिकभित्रै सबै सतप्रतिशत प्रगति गरिसकेका छौँ ।’
गत आर्थिक वर्ष २०८०/८१ मा पनि सतप्रतिशत प्रगति गरेर पालिकाले ‘उत्कृष्ट वडा’ घोषण गरी पुरस्कृत गरेको उनले बताए । ‘अघिल्लो बर्ष उत्कृष्ट वडा घोषणा गरी पालिकाले पाँच लाख रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरेको थियो’, उनले भने, ‘यो वर्ष पनि अघिल्लो बर्षको बिरासत जोगाउन लागि परेका छौँ ।’
वडाले अधेरीगाउँ शिव मन्दिर पुननिर्माण, खाब्दी भञ्ज्याङ्ग गणेश मन्दिर निर्माण, देउराली सामुदायिक भवन माथि ट्रस निर्माण, लखन किल्ला भँगेरीथान सडक स्तरोन्नती र वनकाली गरन्जा गाउँ हुँदै सुसारे गाउँ सडक स्तरोन्नती शिर्षकको योजनाहरु सम्पन्न गरेको उनको भनाई छ । येसैगरी, काजी विराज थापा मगरको सालिक एवं पार्क निर्माण, मास्किछाप भु.पु सैनिक ट्रस्ट भवन निर्माण, वकेन्स्वाँरा माझगाउँ रिटेनिङ्ग वाल तथा बाटो ढलान, सामुदायिक भवनमा शौचालय निर्माण र सिडीबाटो निर्माण तथा ढलान शिर्षकको योजनहरु पनि सम्पन्न भईसकेको बताइएको छ ।
वडाको जनप्रतिनिधि र कर्मचारीको मिहेनतका कारण नै सबै योजनाहरु छिटै सम्पादन भएको वडाअध्यक्ष श्रेष्ठले बताए । ‘हाम्रो वडाले गत साउन २५ गतेभित्र सबै उपभोक्ता समितिहरु गठन गरिसकेको थियो’, उनले भने, ‘आर्थिक वर्षको एक महिना नबित्दै हामीले उपभोक्ता समितिहरु गठन गरेर योजना सम्झौताका कामहरु पनि सुरु ग¥यौँ । त्येसैले पनि छिटो काम सम्पन्न भएको हो ।’ वडा र पालिकाको जनप्रतिनिधि र कर्मचारीहरुबीच राम्रो समन्वय भए बिकासे योजनाहरु सम्पन्न हुन समय नलाग्ने उनी बताउँछन् ।




