
अफ्रिकन स्वाइन फिवरले गोरखा नगरपालिकामा २० भन्दा धेरै बंगुर मरे
अफ्रिकन स्वाइन फिवरको संक्रमणबाट गोरखा नगरपालिकामा २० भन्दा धेरै बंगुर मरेका छन् । गोरखा नगरपालिकाको वडा नम्वर ६ र ७ मा उक्त सङख्यामा बंगुरहरुको मृत्यु भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
‘हाम्रो जानकारीमा आए अनुसार हालसम्म २० वटा बंगुरहरुको मृत्यु भइसकेको छ’, कार्यालयकी सूचना अधिकारी बिनिता कुँवरले भनिन्, ‘जानकारीमा नआएका तर मरेका पनि हुनसक्छन् । गोरखा नगरपालिकाको ६ र ७ नम्वरका बंगुरको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । अन्य पालिकाहरुबाट भने हालसम्म केही जानकारी आएको छैन् ।’
अफ्रिकन स्वाइन फिवर रोकथामका लागि कार्यालय विभिन्न माध्यमबाट जनचेतना फैलाउने र रोगको लक्षण देखिएको बंगुरहरुमा आरडिटी टेष्ट गराउने व्यवस्था मिलाएको उनले जानकारी दिइन् । बंगुरहरुलाई बिभिन्न होटलहरुको खाना खुवाउनका कारण नै रोग फैलिएको हुनसक्ने उनको भनाई छ ।
‘बंगुरलाई होटलको खाना खुवाउने, र त्यही बंगुरको मासु होटलमा लगेर खाने गर्दा संक्रमण तिव्र रुपमा बढेको छ’, उनले भनिन्, ‘किसानहरुले पनि स्वाइन फिवर देखिन थालेको छ भन्ने थाहा पाएर झनै धमाधम बंगुरहरु बेच्न थालेका छन् । त्यसले पनि रोग तीब्र रुपमा फैलिएको छ ।’ अफ्रिकन स्वाइन फिवर बैगुरहरुमा निकै संक्रमणजनक हुने भएता पनि यसले मान्छेलाई असर नपु¥याउने उनले जनाएकी छिन् ।
गोरखा नगरपालिकाले पनि सार्वजनिक सूचना जारी गर्दै सतर्कता अपनाउन बंगुर पालक कृषकहरुलाई आग्रह गरेको छ ।नगरभित्रका केही वडामा रहेका बंगुर फर्म र किसानले घरमा पालेका बंगुरहरुमा अफ्रिकन स्वाईन फिवर रोगसंग मिल्दोजुल्दो लक्षण देखिएर बंगुर मरेकाले सतर्कता अपनाउन आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।
रोगको सटिक उपचार नहुने हुँदा रोगको नियन्त्रण गर्न र थप फैलन नदिन बंगुर फर्म संचालक र बंगुरपालक कृषकहरु बिरामी बंगुरलाई स्वस्थ बंगुरबाट अलग्गै राख्न नगरपालिकाले आग्रह गरेको छ । रोगको लक्षण देखाएका बिरामी बंगुरको बिक्रि वितरण नगर्न पनि भनिएको छ ।
खोर भित्रबाहिर नियमित निसंक्रमण गर्न चुन, फिनेल, भीरकोन, आदिको प्रयोग गर्ने र सरसफाईमा बिशेष ध्यान दिन कृषकहरुलाई आग्रह गरिएको बताइएको छ । संक्रमणका कारण बंगुर मरेमा जथाभावी नफाली फर्मदेखि टाढा अलग ठाउँमा गहिरो खाडल खनी चुन प्रयोग गरि गाडन् नगरपालिकाले सुझाएको छ ।




