
गोरखामा सुरु भयो ‘पहाड’ फिल्मको छायाङ्कन
रित्तिदैँ गरेको पहाडको विषयवस्तुलाई समेटेर बन्न लागेको चलचित्र ‘पहाड’को छायाङ्कनशुक्रबारबाट आरम्भ भएको छ । नेपालका बरिष्ठ चलचित्र निर्देशक तथा अभिनेता तुलसी घिमिरेको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको छायाङ्कन गोरखामा सुरु भएको हो ।
गोरखास्थित भीमसेनथापाको जन्मस्थान, पिपलथोकमा पहाडको सुटिङ कार्य सुरु भएको प्रोडक्शन मेनेजर अरुण रेग्मीले जानकारी दिए । यस चलचित्र पिपलथोक, ताप्लेलगायतका स्थलमा सुटिङ हुनेछ । सुटिङका लागि रित्तिदै गएको गाउँहरुको पनि खोजी भइरहेको जनाइएको छ ।
चलचित्र पहाडमा तुलसी घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले डेब्यु गरेकी छिन् । राष्ट्रिय विभूति भीमसेनथापाको गोरखा नगरपालिका–४ पिपलथोकस्थित जन्मस्थल वरपरको क्षेत्रहरुमा चलचित्र छायाङ्कन भइरहेको छ । त्यहाँ चलचित्रका लागि आवश्यक पर्ने पहाडी गाउँबस्तीजस्तो देखिने भौतिक पूर्वाधार निर्माण गरी चलचित्र छायांकन गरिएको छ ।
‘८० प्रतिशत छायाङ्कन गोरखामा र बाँकी २० प्रतिशत काठमाण्डौँ र मुम्बईमा हुन्छ’,चलचित्रका प्रोडक्शन मेनेजर अरुण रेग्मीले भने,‘गोरखामा अबको एकमहिनासम्म चलचित्र छायाङ्कनको हुनेछ ।’ चलचित्र पहाडमावरिष्ठ हाँस्यव्याङ्ग्य अभिनेता मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, रविन्द्रसिँह बानियाँ, प्रियंका कार्की, अरुण क्षेत्री र पञ्चमी घिमिरेलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यो चलचित्रले युवा जनशक्ति विदेश पलायन हुँदा कसरी पहाड रित्तिन्छ र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु चित्रण गर्नेछ । ‘युवाहरु आफ्नै थातथलो फर्कनु पर्ने’ भन्ने रहेको रेग्मीले बताए।




