| मङ्लबार, अशोज १२, २०८३

नवौँ गोर्खाली रनिङ कपको चौँथो दिन दुई खेल सम्पन्न

जिल्लामा जारी नवौँ गोर्खाली रनिङ कपको चौँथो दिन शनिबार दुई खेल सम्पन्न भएको छ । पहिलो खेल समिचौर युवा क्लव गोनपा–१० र न्यु जनसारा युवा क्लव बारपाक सुलिकोटबीच भएको थियो । सो खेलमा दुवै टिमले निर्धारित समयभित्र १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेकोमा ५–४ को गोल अन्तरले समिचौर युवा क्लव विजयी बनेको छ ।

यस्तै, दोस्रो खेल आयोजक हरमटारी क्लव र गण्डकी प्रदेश प्रहरी फुटबल टिमबीच भएको थियो । दुवै टिमले निर्धारित समयमा १–१ गोल गरेपछि उक्त खेल पनि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा ५–४ को गोल अन्तरले आयोजक हरमटारी क्लव विजयी बनेकोे छ ।

प्रतियोगिताको पाँचौ दिन आईतबार दुई खेल हुने आयोजकले जनाएको छ । आईतबारको पहिलो खेल दिउँसो १ बजे नारायणी मोटर्स युनिक क्लव चितवन र चाईनिजधारा परिवारबीच हुने आयोजक हरमटारी क्लवको भनाई छ । यस्तै, दोस्रो खेल दिउँसो ३ बजे लक्ष्मीबजार हर्ट क्लव र सुर्यपुर एफसी कालिका चितवनबीच हुने बताइएको छ ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको उपाधि बिजेता टिमले चार लाख नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले दुई लाख नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

खेलमा अनुशासित टिमलाई ३५ हजार, सवोृकृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदीयमान खेलाडीलाई प्रोत्साहनस्वरुप १० हजार नगद पुरस्कारको व्यवस्था समेत गरिएको क्लबले जनाएको छ । खेलमा सहभागी खेलाडीहरुको तीनलाख रकम बराबरको दुर्घटना बिमा समेत गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्