| सोमवार, कार्तिक २३, २०८३

आयुर्वेद कम्पनी, रेडक्रस भवन सडक स्तरोन्नतिको काम छिटो गर

जिल्लाका धेरै ठाउँमा पूर्वाधार विकासका काम अलपत्र छन् । कैयौँ काम सुरु भएको १०, १५ बर्ष भइसक्दा पनि सम्पन्न भएका छैनन् । योजना सम्पन्न नहुँदै भत्किएर पुनः मर्मत गर्नुपर्ने अबस्थामा पुगेका कैयौँ उदाहरण छन् । त्यस्तै नमूना योजनामध्यको एक हो, गोरखा आयुर्वेद कम्पनीदेखि रेडक्रस भवन जोड्ने सडक ।

यो सडकखण्ड निर्माण भएको दुई दसक भन्दा धेरै भइसकेको छ, तर अहिलेसम्म कालोपत्रे भएको छैन । कालोपत्रे गर्नका लागि डेण्डर आव्हान भएको पनि पाँच बर्ष नाघिसकेको छ, तर अझै कालोपत्रे हुन सकेको छैन । स्तरोन्नतिको काम त यसै गरेन, निर्माण कम्पनी आक्कलझुक्कल आउने र केही भाग भत्काएर जाने गर्दा स्थानीयबासीले झन् कष्ट झेल्नु पर्ने अबस्था छ । यो चरम लापार्बाहीको यथासीघ्र अन्त्य हुनुपर्छ ।

सो सडकको काम अलपत्र पारेको भन्दै गत मंगलबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको ध्यानाकर्षण पनि गराइएको छ । सो सडक भत्काएर अलपत्र(अवरुद्ध) पारेको भन्दै मंगलबार स्थानीयबासीले प्रजिअलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ठेकेदारले रेडक्रसको भवनदेखि आयुर्वेद कम्पनीसम्मको भित्रि सडकखण्ड स्थानीनिर्माणको काम बिगत एक महिनादेखि अलपत्र परेकोे ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

स्तरोन्नतिको काम सुरु गर्न भनेर पुसको अन्तिम सातातिर आएका ठेकेदारले सडक खन्ने, माटो थुपार्ने गरेर झन प्रयोग गर्न नमिल्ने बनाएर गएका छन् । एक महिनाअघि सडक भत्काएर गएका उनी अहिलेसम्म फर्केका छैनन् ।

ठेकेदारको चरम लापार्बाहीप्रति ध्यानाकर्षण गर्दै स्थानीयले कारबाहीको माग गरेका छन् । कारबाही दोस्रो कुरा हो, पहिले त सो सडक स्तरोन्नतिको काम अघि बढ्नु पर्दछ । यत्तिका समयसम्म अलपत्र पार्नु बदमासी हो । तसर्थ अब ठेकेदारलाई झिकाएर काम लगाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्