
गाउँ बन्यो वृद्धाश्रमः न बालबालिका न युवा गाउँमा, ६० कटेका बुढाबूढीले मात्र धान्दै गाउँ
शिव उप्रेती ।
सहिद लखन गाउँपालिका १ सानो दिप्लिङबाट हेर्दा ठूलो दिप्लिङको पाखाभरि १६० भन्दा धेरै घरधुरी खचाखच देखिन्छ । ठूलो दिप्लिङबाट हेर्दा सानो दिप्लिङतिर पनि उस्तै भरिभराउगाउँ देख्न पाइन्छ । टाढाबाट मात्र होइन, गाउँमै पुगेर हेर्दा पनि न ठूलो दिप्लिङमा बालबालिका देखिन्छन्, न सानो दिप्लिङमा ।
ससाना बालबालिका मात्र होइन, दुवै गाउँमा ठूला युवा युवतीहरु पनि देखिँदैनन् । ‘बालबालिका नभएका होइनन्, छन्’, ठूलो दिप्लिङका ८१ बर्षीय टंकबहादुर गुरुङ भन्छन्, ‘शुक्रबार साँझतिर स्कूल छुटेर हरर आउँछन् । घरगाउँ नै उज्यालो भए जस्तो लाग्छ । तर शनिबार बिहान खाना खाएर सबै फर्किन्छन् । गाउँ त फेरि ठण्डाराम । छोराछोरी, नाति नातिनी भन्ने त छँदैछैनन् ।’ काखे बच्चासमेत लिएर छोरी बुहारीहरु बजारतिर बस्न गएका उनको भनाइ छ ।
ठूलो दिप्लिङ गुरुङ बस्तीले भरिएको गाउँ हो, सानो दिप्लिङचाहिँ मगरहरुको । छोराछोरी पढाउन भन्दै ठूलो दिप्लिङका सबै महिलाहरु लक्ष्मीबजारमा गएको ७५ बर्षका रुपबहादुर गुरुङ बताउँछन् । ‘मेरो चार भाई छोराहरु सप्पै बाहिर छन् । बुहारीहरु पनि सप्पै नातिनातिनी पढाउन लक्ष्मीबजारमा छन्’, उनी भन्छन्, ‘घरगाउँमा त हामी थाङ्ने बुढाबूढी मात्तै छम् । जुग जमाना नै त्यस्तै छ, बुढालाई केही भए बूढीले हेर्ने मात्तै हो, बूढीलाई केही भए बुढाले हेर्ने हो । छोराछोरीको पैसाको मुठाले के नाप्छर? चल्तीचलनै यस्तै छ ।’
विद्यालय नभएकाले गाउँ बालबालिकाबिहिन भएकोउनको बुझाइ छ । ‘एउटा स्कूल थियो, त्यही पनि ढल्यो’, उनी थप्छन्, ‘नानीबाबुलाई अन्धकारमा राख्न पनि त भएन नि ।पठाउनै प¥यो । मेरै चार भाइछोराका बुहारीहरु लक्ष्मीबजारमा बच्चा पढाउन गाका छन् । शुक्रबार हाफ छुट्टी हुन्छ । आउँछन् । आउँदा त रमाइलो लाग्छ । बूढीमाउले रमाइ–रमाइ भाततिउन पकाउँछिन् । सबै मिलेर खायो रमायो, भोलिपल्ट बिहान उठेर जान्छन् । फेरिजस्ताको तस्तै ट्वाँ ।’
जन्ती मलामीमा पनि बुढाखाडा मात्रै हुने उनको भनाइ छ ।‘जसको घरमा हेरे नि ५५, ६० कटेका बुढाबूढी मात्र छम् । ५५, ६० मुनिका मान्छे त गाउँमा फेला पार्नै सकिँदैन’, उनी भन्छन्, ‘ मलामी पनि, जन्ती पनि बुढाखाडामात्तै हो ।’ ठूलो दिप्लिङमा बालबालिका र युवायुवती सुन्य भएको १० बर्षभन्दा धेरै भयो । अधिकांश युवाहरु वैदेशिकरोजगारीमा छन् ।
उनीहरुका जहान बालबच्चा लिएर सहर गएर बस्छन् । ‘हुर्के बढे, पँखेटा लाएपछि चर्न गइहाल्छन्’, अर्की स्थानीय गौमाया गुरुङभन्छिन्, ‘बच्चा जन्मेपछि बुहारीहरु बजारतिर डेरा लिएर सरिहाल्छन् । बच्चा जन्मिनु त बजारको भिसा लाग्नुजस्तै हो ।’ अलिअलि गर्दागर्दै गाउँमा बालबालिका सुन्य भएको उनी बताउँछिन् । ‘जीरै भएको १० बर्षभन्दा धेरै भयो’, उनी भन्छिन्, ‘स्कूलै खारेज भएपछि कहाँ बस्छन् त केटाकेटी । बस्न मन लागेर पनि कहाँ बस्न पाइयो र, जमाना अनुसार पढ्नै प¥यो ।’गाउँमै राम्रो विद्यालय भयो भने बालबालिका गाउँमै टिक्ने उनको भनाइ छ ।
वृद्धाश्रम बन्दै गाउँ
बालबालिका र युवाहरु नभए पनि यस गाउँका कुनै पनि घरमा ताला भने लागेको छैन । ‘यत्रो घरधुरी छ । कुनै घरमा नि ताला त लागेको छैन । घरघरमा बुढाबूढी दुईदुईजना मात्र बस्छन्’, उनी भन्छन्, ‘बालबालिका नभएको कहाँ हो र ? तर स्कूल उँड्यो। कहाँ पढाउने ? अहिले त सप्पै बजारतिर छन् ।’
यस भेगका बासिन्दाहरु बालबच्चा पढाउन भनेर प्राय लक्ष्मीबजारतर्फ जाने गर्दछ्न् । चितवन जानेको संख्या पनि धेरै नै छ । कोही काठमाडौँ पनि जाने स्थानीयबासी बताउँछन् । ‘लक्ष्मीबजारमा कोही डेरा लिएर बसेका छन्, कोही घर बनाएर’, टंकबहादुर बताउँछन् ।
गाउँमा विद्यालय नभएको होइन, ऋषिकुल प्राथमिक विद्यालय थियो । तर नजिकको तीर्थ हेलाँ,गाउँको विद्यालयमा कसैले पनि बालबच्चा पढाएनन् । प्रकारान्तरमा विद्यालय बन्द भयो । अहिले गाउँले भन्छन्, ‘गाउँको विद्यालय बन्द भएकाले बालबालिका बाहिर लानुप¥यो ।’ अनि जनप्रतिनिधि भन्छन्, ‘गाउँलेले बालबच्चा बाहिर लगेकाले विद्यालय बन्द हुनपुग्यो ।’ जुवारी जसरी चलेपछि दिप्लिङमा न रह्यो विद्यालय, न रहे बालबालिका ।
ऋषिकूल प्राविको आडैमा अहिलेका वडाअध्यक्ष प्रेम गुरुङको घर छ । कुनैबेला उनी सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि थिए ।‘२०७५ सालदेखि गाउँको विद्यालय सदाका लागि बन्द भयो’, गुरुङ भन्छन्, ‘फेरि पनि विद्यालय सञ्चालन गर्न सकिन्छ कि भनेर घरदैलो ग¥यौँ, आमभेला ग¥यौँ । छोराछोरी पठाइदिनू न भन्दै हात जोड्दा पनि कसैले पठाएनन् । मिहिनेत खेरा गयो । ईसीडीसम्म सञ्चालन गर्न सके कम्तिमा काखको बच्चा त घरमै हुन्थे ।’ विद्यालय चलेमा आवश्यक सहयोग गर्न पालिका तयार रहेको उनको भनाइ छ । तरउठ्नै नसक्ने गरी विद्यालय ढलेको उनको निश्कर्ष छ ।
घरसंख्या ३६, जनसंख्या ३०
सहिदलखन गाउँपालिका वडा नं. १ का प्रायः सबै गाउँबस्तीको अबस्था उस्तै रहेको वडाअध्यक्ष प्रेम गुरुङको भनाइ छ । ‘हाम्रो गाउँमात्र कहाँ हो र महेन्द्रशक्ति हाइस्कूल रहेको‘पुरानोगाउँ’ हेर्न जानुस् न’, उनी भन्छन्, ‘घरसंख्या भन्दा जनसंख्या कम छ । भन्न पनि लाजमर्दो छ ।’
१५ बर्ष अघिसम्म यहाँ ६५ घरधुरी थिए । अहिले कोही चितवन गए, कोही काठमाडौँ । चितवन लदरीमा यहाँका २५ घरधुरी पुगेका छन् उनीहरुले त्यहाँ बक्राङगाउँ जमाएका छन् । लक्ष्मीपुरमा १५ घरपरिबार । लक्ष्मीपुरमा पनि सबै एकै ठाउँमाआफ्नै टोल बनाएर बसेका छन् । कोही काठमाडौँ, कोही विदेशका स्थायी बासिन्दा बन्नपुगेका छन् ।
‘पुरानोगाउँ’मा महेन्द्रशक्ति मावि चलिरहेको छ । कूल ६२ जना रहेको यस माविमा पुरानोगाउँका चाहिँ कत्तिपनि विद्यार्थी नरहेको प्रधानाध्यापक प्रकाश अर्यालले जानकारी दिए । यही गाउँको विद्यार्थीचाहिँ यस विद्यालयमा छैनन् ।’गोरखामा विद्यालय स्थापना गर्नुअघि पुरानोगाउँमा गायत्री गणेश नामका दृष्टिविहिन गुरु थिए ।
प्रध्यापक डाक्टर बासुदेव त्रिपाठी, नेता तथा साहित्यकार चिरञ्जिवी वाग्लेलगायत गोरखा र यस आसपास नाम चलेका अन्य विद्वानहरु बाल्यकालमा उनको घरमै पढ्न पुग्थे ।वाक्शिद्धि पाएका भनेर नाम चलेका गुरु गायत्री गणेश प्राय तपस्यारत रहन्थे । त्यसैले उनको घरमा सञ्चालित गुरुकूलको नामबाट पछि विद्यालयको नाम नै ऋषिकूल नामाकरण गरिएको किंवदन्ती छ ।
संस्कृति विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर शिवहरि मरहट्टाको गृहनगरसमेत रहेको यहाँका गाउँहरु अहिले निर्जन, बन्दै गएको छ ।
विद्यालयहरु पनि विद्यार्थीविहिन बन्दै गइरहेका प्रअ अर्यालको भनाइ छ । सानो दिप्लिङको पनि हालत उही हो । यहाँ जम्माजम्मी ८६ घरधुरी छन् । यहाँका घरहरु बुढाबूढी मात्र रहेको वृद्धाश्रम जस्तो छ । बालबच्चा नभएर विद्यालयको तह घटाइएको छ । पाँच कक्षासम्म सञ्चालित यहाँ विद्यार्थीबिहिन बन्दै गएपछि अहिले तीन कक्षामा झारिएको छ । त्यत्तिमा पनि विद्यार्थी संख्या जम्मा पाँच छ जना मात्र छन् ।
पुरानो गाउँको छेवैमारहेको पन्तगाउँ अहिले साँच्चै निर्जन बनेको छ ।आठबर्षअघिसम्म १६ घरपरिबार रहेको पन्तथाउँ अहिले पूर्ण रुपमा निर्जन रहेको हाल काठमाडौँमा व्यवसाय गरी बस्ने काशिनाथ पन्त बताउँछन् ।‘हाम्रो गाउँमा कुनैबेला १६ घरधुरी थिए, तर अहिले सबै घर खालि छन्’, पन्त भन्छन्, ‘व्यापार, व्यवसाय खोज्दै हिँड्दा कोही कतै, कोही कतै भए । सातवटा घर त भत्किसकेको छ । अझै कति भत्किने हुन् ।’
साविक बक्राङ गाविसअन्तर्गत पर्ने सहिद लखन गाउँपालिका वडा नं. १ का गाउँहरु वृद्धाश्रम जस्ता छन् । गाउँ छाड्ने दर बढिरहे पनि बसाइँसराई प्रमाणपत्र भने केहीले मात्र लगेका छन् । वडा कार्यालयबाट प्राप्त तथ्यांकअनुसार यस वडाबाट बिगत पाँच बर्षमा ९८ परिबारले मात्र बसाईसराइ प्रमाणपत्र लगेका वडा सचिव कृष्ण अर्यालले जानकारी दिए ।
वृद्धाश्रम बन्यो, वृद्धवृद्धाको स्याहार गर्ने पनि छैनन्
सहिद लखन १ को यो दृश्य गोरखाका आम गाउँबस्तीको प्रतिबिम्ब हो । अहिले सबैको मुखबाट गाउँ वृद्धाश्रम बन्यो भन्ने मात्र सुनिन्छ, तर, अबस्था त्यति मात्र छैन । वृद्धवृद्धालाई स्याहार सम्भार गर्नेहरु पनि गाउँमा नरहेको सामाजिक संघसंस्थामा रहेर काम गरिरहेका हरि देवकोटाको टिप्पणी छ ।
उनी भन्छन्, ‘गाउँ वृद्धाश्रम बन्यो भन्ने भाष्य पुरानो भइसक्यो । अबस्था त्योभन्दा फरक भइसकेको छ । अहिलेवृद्धावृद्धालाई स्याहार सम्भार गर्नेहरु पनि गाउँमा छैनन् । बिरामी पर्दा उपचार पाएका छैनन् । उमेरदारहरु रोजगारीका लागि विदेशमा छन् । उनीहरुका श्रीमती, बालबच्चा सहरमा छन् । घरकुरुवा बनेर बसेका वृद्धिवृद्धा अशक्त भइसकेका छन्, तर स्याहार सम्भार गर्नेहरुको अभाव छ । अब गाउँगाउँमा वृद्धवृद्धाको बिचल्लीको दृश्य देख्ने दुर्दिन आएको छ ।ज्युँदाको जन्ती, मर्दाको मलामी भन्ने उखान परिवर्तन हुँदैछ । गाउँमा न ज्यूँदाका जन्ती छन्, न मर्दाका मलामी छन् ।’
गाउँमा पूर्वाधार विकास भएन भन्ने भाष्य पनि पुरानो बन्दै गएको उनको टिप्पणी छ । ‘भूकम्पपछि गाउँबस्ती, डाँडाकाँडामा भीमकाय विद्यालय भवन बने तर, १० बर्ष नबित्दै ती प्रयोगविहिन खण्डहर भइरहेका छन् । रोड खनिएका छन्, स्तरोन्नति हुदैछन् तर मोटर कुदाउने छैनन् । खानेपानी, सिचाइ योजनाहरु बनिरहेका छन् तर, उपभोक्ता छैनन् । सामुदायिक भवनहरु बनेका छन्, प्रयोगकर्ताहरु छैनन्’, देवकोटाले भने ।
गाउँमा आर्थिक रुपमा कमजोरहरु मात्र बाँकी रहँदा उनीहरुको मनोविज्ञानमा पनि नराम्ररी असर पारिरहेको देवकोटाको भनाइ छ । देवकोटाको विश्लेषण छ, ‘अहिले जो गाउँमा छन्, उनीहरुको मन हामी गरिब, हामी कमजोरहरु मात्र गाउँमा छौँ भन्ने मनोविज्ञानले विक्षिप्त भएका छन् । उनीहरुका बालबच्चा पनि सक्नेहरु गए, हाम्रा बुबाआमा कमजोर भएर हामी गाउँमा बाँकी रहेका छौँ भन्ने मनोविज्ञानले घर गरेको छ । यसले गाउँको अबस्थालाई झन अन्धकारतिर लैजान्छ ।’
रोजगारी सिर्जनाले गाउँ गुल्जार हुन्छ
वैदेशिक रोजगारीका कारण गाउँ निर्जन भएको मानवअधिकारकर्मी अधिवक्ता स्थानेश्वर दुवाडीको विश्लेषण छ । उनी भन्छन्, ‘हामी गाउँ जाँदा भेटघाट, जमघट, चहलपहल निकै बाक्लो हुन्थ्यो । तर अहिले गाउँ जाँदा सुन्यजस्तो लाग्छ । ठूलाठूला बारीका पाटा बाँझै देखिन्छन् । धान उब्जिने खेतहरु झाडी बनिसकेका छन् । गाउँमा मान्छे नबसेपछि घरभित्रैसम्म बाँदरको रजाइँ छ ।
बाँदर आतंकले पनि मान्छेलाई गाउँमा बसिनसक्नु छ । यस्तो अबस्था किन आयो ? मेरो बुझाइमा वैदेशिक रोजगारीले यो अबस्था सिर्जना भएको हो । स्वदेशमा रोजगारी छैन । दुईचार पैसाको मुख हेर्न पनि वैदेशिक रोजगारीमा जानु पर्ने अबस्था छ । विदेश गएपछि अलिअलि कमाइ हुन्छ । अनि श्रीमती, छोराछोरीलाई सहरमा लगेर राख्छन् ।
जनसंख्याको घट्दो दरले पनि गाउँघर निर्जन बन्दै गएको हो । कम्तीमा दुई सन्तान मात्र भएको भए पनि यस्तो हुँदैनथ्यो कि ? एक सन्तान भए पुग्छ भन्ने मान्यता राष्ट्रिय स्तरमै विकास भइरहेको छ । यो राम्रो होइन । सन्तान कम्तीमा कति, बढिमा कति जन्माउने भन्ने विषयमा राष्ट्रिय मान्यता आवश्यक पर्छ ।अनि अर्को कुरा, यदि स्वदेशमै रोजगारी सिर्जना भयो भने धेरै हदसम्म युवाहरु विदेश जान छोड्ने थिए । युवा विदेशिएनन् भने गाउँठाउँ फेरि भरिन्छ, गुल्जार हुन्छ ।’ यसका लागि राष्ट्रिय नीति नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
गाउँलाई सेवासम्पन्न बनाऔ
गाउँलाई गाउँ बन्न नदिई सहर बनाउने प्रयास भएको समाजशास्त्री दीपेश घिमिरेको बुझाइ छ। ‘हाम्रो विकासको मोडेल कस्तो अपनायौं भने गाउँलाई गाउँजस्तै राखेर सबै सुविधा पु¥याउनुपर्ने हो तर गाउँलाई हामीले सहर बनाउने दुष्प्रयास गरिरह्यौं’, उनले भने, ‘गाउँलाई गाउँ नै राखेर सबै सुविधा पु¥याउन सक्नु र गाउँलाई सहर बनाउनु फरक कुरा हो। गाउँलाई सहर बनाउनु भनेको सबै घरघरमा बाटो पु¥याउनु प¥यो। सहरमा हुने खालका सबै सुविधा गाउँमा पु¥याउनेभन्दा नि भौतिक संरचना पु¥याउनेतिर हामी लाग्यौं।’
उनका अनुसार योजनाहरू पनि यस्ता खाले बने कि गाउँभन्दा सहरकै लागि बजेट बढी छुट््याइए। ‘सहरी क्षेत्रमा धेरै मात्रामा पैसा खर्च गरिरहेका छौं। गाउँमा हामीले त्यही अनुरूप बजेट पु¥याउन सकेका छैनौं’, उनले भने। गाउँको विकास भनेको रोड पु¥याउनुभन्दा पनि सुविधासम्पन्न अस्पताल, सुविधासम्पन्न स्कुल पु¥याई रोजगारीका अवसर सिर्जना गर्न सक्नु रहेको उनले बताए। ‘अनि त्यहीँ अर्थतन्त्र चलायमान गराउन सकियो भने र बालबालिकालाई काठमाडौंको जस्तै एउटा राम्रो स्कुल गाउँमै चलाउन सक्यौं भने वा काठमाडौंकै जस्तो सुविधासम्पन्न अस्पताल गाउँमै पु¥याउन सक्यौं भने हुन्छ’, उनले भने।
उनका अनुसार गाउँमा विद्यालयका संरचना छन्, गुणस्तरीय शिक्षा छैन । स्वास्थ्यचौकी छ तर स्वास्थ्यकर्मी बस्दैनन् । यस्ता आधारभूत सेवाबाट नै बिमुख भएपछि गाउँ छोडेर मानिस सहर आउन थालेका उनको भनाइ छ। गाउँमा बस्ने मानिसको करमा छुट दिन सकियो भने पनि गाउँमा मानिस बस्ने बताउँदै उनले भने, ‘गाउँमा बस्नेलाई कम सहरमा बस्नेलाई बढी हुनासाथ र अन्य सुविधा भए मानिस गाउँमै बस्छन् ।’




