
७५ औँ प्रजातन्त्र दिवस गोरखामा प्रभातफेरी र दीपप्रज्वलन गरी मनाइयो
जिल्लामा विभिन्न कार्यक्रमहरु गरी ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो ।
बुधबार बिहान जिल्ला प्रशासन कार्यालय परिसरदेखि हरमटारी चोक, बिसौनी मोड, शक्ति चोक, बसपार्कहुँदै ठुलोआँगनसम्म प्रभातफेरी गरिएकोे सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताए । साथै, ठुलोआँगन, संग्रहालय परिसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न भएको उनले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, जिल्लास्थित सुरक्षा निकायहरु, कर्मचारी लगायतले सहभागिता जनाएको उनले बताएका छन् ।
दिवसको अवसरमा बुधबार बेलुका दीप प्रज्वलन समेत गरिएको सहायक प्रजिअ बरालको भनाइ छ । ‘सबै कार्यालयहरुमा आ–आफ्नो घरघरमा पनि दीप प्रज्वलन गर्न कर्मचारी जगत र नागरिकहरुलाई अनुरोध गरेका छौँ’, उनले भने, ‘प्रजातन्त्र दिवसको बारेमा नयाँ पुस्तालाई जानकारी दिन जरुरी छ ।’




